चैत २८, रासस – ताप्लेजुङ तिरिंगे–९ गुमरेडाँडामा काठमाडौँबाट गएका तीर्थयात्री पाथीभरा मन्दिर दर्शन गरी मे १ त २१०० नंको ट्याक्टरमा सुकेटारतर्फ फर्कने क्रममा ट्याक्टर गुडी अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना हुँदा पाँचको मृत्यु भएको छ ।
चालकसमेत नौ तीर्थयात्री ट्याक्टर रोकी शौच गर्न झरेको अवस्थामा मङ्गलबार राती २०:३५ बजे तीर्थयात्रीमध्येकाले ट्याक्टरको गियर चलाइदिंँदा सो दुर्घटना भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा अन्य १८ जना घाइते भएका छन् ।
उक्त दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी गई १९ घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएकामा उपचारका क्रममा काभ्रेपलाञ्चोक बनेपा बस्ने ४० वर्षीया गीता थापाको मृत्यु भएको थियो भने हुलाक कार्यालय चाबहिल काठमाडौंँका कर्मचारी रेणु महर्जन, काठमाडौंँ नैकाप–४ बस्ने ५७ वर्षीया गीता दवाडी, नैकाप–६ बस्ने ५० वर्षीया मैयाँ बुढाथोकी र सोही ठाउँ बस्ने ईश्वरी थापासमेत चार जना घटनास्थलमा मृतावस्थामा फेला परेका थिए । ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा परेकाको हवाइ उद्धार
गम्भीर घाइते २० महिला तथा पुरुषलाई नेपाली सेनाको एमआइ–१७ हेलिकप्टरद्वारा उपचारका लागि काठमाडौँ ल्याइएको छ । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल उद्धारका लागि ताप्लेजुङ जिल्लास्थित श्रीबक्स गुल्मको सामूहिक तालिम इलाका सुकेटारबाट अधिकृतको कमान्डमा गएको उद्धार टोलीले मृतक तथा घाइतेको उद्धार गरी जिल्ला अस्पताल ताप्लेजुङ पठाएको सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ ।