चैत २७ – अन्तरिम चुनावी मन्त्री परिषद सरकारले आज आर्थिक वर्षमै तेस्रो पटक चार खर्ब चार अर्ब ५७ करोड बराबरको बजेट ल्याएको छ ।

अन्तरिम चुनावी मन्त्रिपरिषद्का अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मंगलबार साँझ उक्त बजेट प्रस्तुत गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित राष्ट्रिय विकास परिषद्को हलमा सार्वजनिक गरिएको बजेटमा चालू खर्चतर्फ २ खर्ब ७९ करोड अर्थात् ६८ प्रतिशत र पूजीगत खर्चतर्फ ६६ अर्ब अर्थात् १६ प्रतिशत रकम बिनियोजन गरिएको छ ।

आज साँझ राष्ट्रपति रामवरण यादवले बजेट अध्यादेश स्वीकृति गरेसँगै चालू आर्थक वर्षको पूर्ण बजेट सार्वजनिक गरिएको हो।

उक्त बजेटमा निर्वाचन आयोगका लागि ६ अर्ब र निर्वाचन सुरक्षाका लागि ८ अर्ब गरी १४ अर्ब रकम विनियोजन गरिएको जनाइएको छ ।

बजेटका लागि राजश्वसबाट २ खर्ब ८९ अर्ब संकलन हुने र बैदेशिक अनुदानबाट ४६ अर्ब ९८ करोड प्राप्त हुने सरकारको अनुमान रहेको छ ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री कोइरालाले सरकारको मुख्य ध्येय चुनाव गराउनुभएकाले बजेट निर्वाचन, शान्ति सुरक्षा र महत्वपूर्ण भौतिक आयोजनामा मात्रै केन्द्रीत भएको बताए ।

चालू आर्थिक वर्षमा दुई पटक बजेट ल्याउँदा पनि नधान्ने स्थिति भएपछि प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले आज तेस्रो पटक बजेट ल्याएको हो ।

तर बजेटमा कुनै पनि नयाँ कार्यक्रम भने रहेका छैनन् । आर्थिक वर्षको सकिन तीन महिना मात्र बाँकी रहेको र यो गैरराजनीतिक सरकार भएकाले बजेटमा कुनै पनि नयाँ कार्यक्रम नराखिएको बताइएको छ ।

यसअघि दलहरुबीचको विवादले गर्दा असारमा पूरा बजेट आउन रोकिएको थियो । सो समयमा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको एमाओवादी सरकारले एक तिहाइ बजेट सार्वजनिक गरेको थियो ।

त्यस्तै त्यही सरकारले गत मंसिर ५ मा सेवा र कार्यका लागि सञ्चित कोषबाट रकम झिक्ने तथा विनियोजन गरी खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेशमार्फत् ३ खर्ब ५१ अर्ब ९३ करोड रुपैयाँको काम चलाउ बजेट सार्वजनिक गरेको थियो।

अध्यादेशअनुसार गत वर्षको यथार्थभन्दा बढी रकम खर्च गर्न नपाउने अवस्था आए पछि अर्थले चुनाव लगायत अन्य खर्च व्यवस्थापन गर्न बजेट ल्याउनु परेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।