२२ चैत । तनहुँको दक्षिण पश्चिम भेगमा पर्ने विकट कोटदरबार–८ घिरिङ सुन्धारा गाविसमा बुधबार साँझ जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा आठवटा घर र पाँचवटा गोठ जलेर खरानी भएका छन् ।

आगलागीबाट कोटदरबार गाविस वडा नं २ का सन्तबहादुर रिलामी, दलबहादुर रिलामी, बलबहादुर रम्जाली, गगन आले, सूर्यबहादुर आले र बेलबहादुर दर्लामी तथा घिरिङ सुन्धारा गाविसका जयबहादुर थापालगायतका घर र पाँचवटा गोठ जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आगलागीबाट अन्नपात, लत्ताकपडा, गरगहना नगद रकमलगायतका सामग्री जलेर ध्वस्त हुँदा रु २५ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको नेपाली काँग्रेस कोटदरबार गाउँ कार्यसमितिका सभापति जङ्गवीर आलेले बताउनुभयो ।

आगलागीबाट दुईवटा चौपाया र दर्जनौँ कुखुरासमेत मरेका छन् । पीडित परिवारहरूले आफन्त र गाउँलेकोमा शरण लिइरहेका प्रहरीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।