चैत ९ – डाँकाहरूले पेस्तोल तेर्साएर आज बिहान ३ बजे यहाँ दुई जनाको घरमा लुटपाट गरेका छन् । लहान नगरपालिका –८ का रेणु कर्ण र पल्टु सदायको घरमा लुटपाट गरेका हुन् ।

डाँकाहरूले कर्णको घरबाट १० आना सुन, रु ८ हजार र एक थान मोवाइल र सदायको घरबाट २ आना सुन र एक थान मोवाइल लुटेको वडा प्रहरी कार्यालय लहानले जनाएको छ ।

डाँकाहरूको प्रतिकार गर्दा स्थानीय तुलबहादुर मगर घाइते भएका छन् । उनको उपचारका लागि लहान अस्पतालमा भर्ना गरिएको छ । दुई घरमा प्रवेश गरी लुटपाट गरिरहँदा स्थानीयवासीले प्रतिकार गरेको थियो ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज न्यौपानेका अनुसार डाँकाहरू भाग्ने क्रममा छुटेका एक थान कटुवा पेस्तोल र सोमा लाग्ने एक थान गोली प्रहरीले घटनास्थलबाट बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।