काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले प्रधानमन्त्री देउवालाई कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्य सम्पादन चित्त बुझ्दो नभएको जनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।
स्रोतका अनुसार उर्जा मन्त्रालयले शाक्यको राजीनामा समेत माग गरिसकेको छ । प्रधानमन्त्री देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्तिको प्रक्रिया थाल्न निर्देशन दिएसँगै शाक्यको राजीनामा मागिएको हो ।
घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा चार वर्ष काम गरेर उनी २०७७ साल भदौमा सेवानिवृत्त भएका थिए । प्राधिकरणमा रहँदा उनले लोडसेडिङको अन्त्य, चुहावट नियन्त्रणमा सफल भएका थिए । चौतर्फी घिसिङलाई पुनः प्राधिकरणमा नियुक्त गर्न माग गरिए पनि केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थिएन ।







