फडिन्द्र अकिञ्चन – प्रधानन्याधिश खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम चुनावी मन्त्री परिषद् गठन पश्चात आन्दोलित दलहरुले आज कास्कीमा पनि विरोध सभाको आयोजना गरेका छन् ।
केन्द्रमा ३४ दल सहभागी संयुक्त आन्दोलन परिचालन समिति गठन भएको छ भने कास्कीमा सो समितिमा ११ दल सहभागी छन् । विरोधसभालाई सम्बोधन गर्दै उनीहरुले रेग्मी नेतृत्वको सरकार विघटनका लागि आन्दोलन अपरिहार्य भएकोमा जोड दिए ।
विरोधसभामा नेकपा–माओवादी कास्की ईन्चार्ज सावित्री दूरा ‘आस्था’ले निकासको लागि आन्दोलन मात्र रहेको बताईन । उनले भनिन–‘आन्दोलनमा पनि दमन गरियो भने यसले अर्र्कै रुप लिन्छ ।’ दमन भए शसस्त्र विद्रोह हुन सक्ने उनले चेतावनी दिईन ।

विदेशीले नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरिरहेको दाबी गर्दै उनले प्रमुख चार दलले मुर्खतापूर्ण र घातक विकल्प रोजेको दाबी गरिन । उनले भनिन–‘भोक लाग्दा भात पाईएन भने घाँस पनि खानु त भएन नि ।’
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य विश्वासले अहिलेसम्मका आन्दोलनका उपलब्धी गुम्ने अवस्थामा पुगेको जिकिर गर्दै फेरि शसस्त्र संघर्षमा जान सक्ने चेतावनी दिए । उनले एमाओवादीको नेतृत्वले विश्वासघात गरेर जनताका मुद्दा अलपत्र पारे पनि आफूहरु त्यसलाई पूरा गर्न लागेको बताए ।
नेकपा–माओवादी कास्कीका सेक्रेटरी कृष्ण बाग्ले रुपेशले सिंह दरबारको अधिकार प्रमुख दलहरुले दिल्ली दरबारमा पुर्याएको आरोप लगाए ।
कार्यक्रममा नेकपा एकिकृत तमुवान स्वशासित राज्य संयोजक भीमबहादुर श्रीस मगर, नेकपा माले कास्कीका सचिव होमनाथ गिरी, नेकपा संयुक्त कास्कीका अध्यक्ष दीर्घबहादुर जि. सी.ले आन्दोलनको आवश्यकता माथि जोड दिएका थिए ।
विरोधसभा अगाडि पृथ्वीचोकबाट निस्किएको विरोध ¥याली सभागृह चोक, न्यूरोड हुँदै चिप्लेढुंगामा पुगेर सभामा परिणत भएको थियो । विरोधसभाका सहभागीहरुले निर्दलिय सरकार राजिनामा दे, राष्ट्रिय संयुक्त सरकार गठन गरौं, दलालहरु होशियार, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं जस्ता नारा लगाएका थिए ।
संयुक्त आन्दोलन परिचालन समिति कास्कीले नेपाल वार एशोसियसन कास्कीसँग मिलेर समसामयिक विषय र कानुनी प्रावधानको विष्यामा मंगलबार अन्तक्रिर्याको आयोजना गरेको छ ।






