फागुन २४ – सङ्घीय लोकतान्त्रिक मोर्चा नेपालले आज आह्वान गरेको नेपाल बन्दको कार्यक्रम कञ्चनपुर जिल्लामा फिर्ता लिएको छ ।

कञ्चनपुरमा भइरहेको औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव २०६९ लाई प्रभाव पर्ने भएकाले कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आग्रहमा बन्दका कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

यहाँ छोटो दूरीका यातायातका साधन जिल्लाभित्र सञ्चालन भइरहेका छन् भने बजार क्षेत्रसमेत बिहानै देखि खुला रहेको छ । लामो दूरीका सवारीसाधन भने सञ्चालन हुन सकेका छैनन् । शैक्षिक संस्थाहरूमा पनि बन्दको कुनै प्रभाव देखिएको छैन ।

मोर्चामा सम्मिलित राष्ट्रिय मधेस समाज वादी पार्टीका जिल्ला संयोजक अम्बा दत्त तिवारी, मधेसी जनअधिकार फोरम नेपालकी अध्यक्ष सिता नागरी र ताम्सालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष कविराम तामाङद्वारा जारी संयुक्त विज्ञप्तिमा देशव्यापी बन्द कार्यक्रम यथावत् भए पनि कञ्चनपुरमा बन्द फिर्ता लिइएको उल्लेख छ ।

मोर्चाले सङ्क्रमणकालको निकासका लागि संविधानसभा र स्थानीय निकायको चुनाव आगामी जेठ मसान्तभित्र सम्पत्र गर्नुपर्ने माग राख्दै आज नेपाल बन्दको घोषणा गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।