ढाका – बङ्गलादेशको युद्ध अपराध अदालतले बिहीबार जमात–ए–इस्लामीका उपाध्यक्ष देलवर होसेन सयदीलाई मृत्युदण्ड दिने निर्णयबाट भड्किएको हिंसामा ४२ को मृत्यु भएको छ ।

सन् १९७१ मा बङ्गलादेश पाकिस्तानबाट स्वतन्त्र हुँदाको युद्धमा युद्धअपराध गरेको भनी सयदीमाथि उक्त निर्णय सुनाइएको थियो ।
सयदीलाई युद्ध अपराध अदालतले हत्या, आगजनी, बलात्कार तथा हिन्दूलाई बलपूर्वक इस्लाम बनाएका आठवटा अभियोगमा दोषी प्रमाणित गरिएको थियो । उनलाई झुण्ड्याएर मृत्युदण्ड दिन पनि आदेश दिइएको छ ।

यस अदालतले यसरी दोषी प्रमाणित गरेका व्यक्तिमा सयदी तेस्रा व्यक्ति हुन् ।

यस विषयमा जनवरी २१ मा पहिलो निर्णय सुनाइएको थियो र त्यसपछि यस्ता निर्णयका कारण भएका सङ्घर्षका कारण ६० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

सो निर्णयको विरोधमा प्रहरी तथा इस्लामी प्रदर्शनकारीबीच भएको भिडन्तमा प्रायः प्रहरीले चलाएको गोलीबाट व्यक्तिको मृत्यु भएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।