फागुन ८, रासस – महोत्तरी जिल्लाको प्रमुख भन्सार नाका भिठ्ठामोडमा गएराति प्रहरी जवानको रहस्यमय मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको पिपरा गाविस–८ बस्ने कुशेश्वर झाका छोरा ३० वर्षीय लक्ष्मी झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
धनुषा जिल्लाको देवडिहा प्रहरी चौकीका प्रहरी जवान झा हिजो मोटरसाइकल बनाउन भारतको भिठ्ठामोड गएका थिए । मोटरसाइकल बनाएर फर्कने क्रममा दशगजा क्षेत्र नजिक नेपाली भूमितिर गाडी दुर्घटना भई बेहोश अवस्थामा सीमा प्रहरी चौकीले भेटेको थियो । 
राति करिब साढे सातबजे सीमा प्रहरी चौकी भिठ्ठामोडले बेहोश अवस्थामा उनलाई फेला पारेको थियो ।
उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइए पनि राति चिकित्सिकले उनलाई मृत घोषणा गरेका प्रहरी निरीक्षक सुरज खड्काले बताए ।
निजको शरीरमा कुनै प्रकारको घाउचोट नदेखिएकाले उनको मृत्यु रहस्यमय भएको प्रहरीले बताएको छ ।






