काठमाडौं २७ भदौं

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले मन्त्रालयमा बस्ने कुर्सीदेखि बोक्ने फाइलसम्म महिलामैत्री नभएको बताएकी छिन् ।
मन्त्रालयमा मंगलबार आयोजित महिला, बालबालिका तथा सामाजिक सरोकारका विषयमा कलम चलाउने पत्रकारहरुसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले नेपाली समाज पुरुषप्रधान रहेको र त्यसको प्रतिविम्ब सिंहदरबारमा पनि रहेको धारणा राखिन् ।

‘सरकारी कार्यालयहरूमा कुर्सी, टेबुल र भ¥याङ मात्र होइन, हामीले बोकेर हिँड्ने फाइलसमेत पुरुषमैत्री छन्’, उनले भनिन् । तीन दर्जन बढी संचारकर्मीहरू उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले महिलाले सानो हाते व्याग बोकेर हिँड्ने हुनाले मन्त्रालयका फाइलहरू व्यागमा नअटाउने र हातैमा बोकेर हिड्नुपर्ने समस्या रहेको बताइन् । ‘यहाँ जे जति संरचना बनेका छन्, ती सबै पुरुषमैत्री मात्र छन्’, मन्त्री कोइरालाले भनिन् ।

समाज कल्याण परिषदको अध्यक्षको कुर्सीमा बस्दासमेत आफूलाई अप्ठेरो हुने गरेको बताउँदै मन्त्री कोइरालाले मन्त्रीहरूले समेत यस्तो अप्ठेरो भोग्नुपरिरहेको अवस्थामा अन्यत्र काम गर्ने महिलाले झनै चुनौतीको सामना गर्नुपरेको बताइन् ।

महिलामाथिका विभेद र हिंसाले गर्दा महिलाहरू पछाडि परिरहेको भन्दै मन्त्री कोइरालाले विभेद र कुरीतिको अन्त्य र महिलामाथिका हिंसालाई नियन्त्रण गर्न सबै स्थानीय तहमा तत्काल उद्धार टोली (¥यापिड, रेस्पोन्स र एक्सन टिम) गठन गर्नुपर्ने धारणा राखिन् । यसका लागि मन्त्रालयले आवश्यक योजना बनाइरहेको र निकट भविष्यमै सबै स्थानीय तहमा तत्काल उद्धार कार्यका लागि कर्मचारी, वकिल, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र नागरिक समाज रहेको एउटा टिम निर्माण गर्ने उनले बताइन् ।

कुनै पनि घटना घटेको २४ घन्टाभित्रै पीडितको उद्धार र घटना घट्न सक्ने संभावित स्थानमा सो घटना रोक्न पहलका लागि यस्तो टिम गठन गर्ने प्रतिबद्धता पनि उनले गरिन् ।
त्यसैगरी मन्त्री कोइरालाले सातवटै प्रदेशमा पुनःस्थापनाका लागि ल्याइएका महिला, बालबालिका, अपांग तथा ज्येष्ठ नागरिकलाई राख्न मिल्नेगरी बहुआयामिक पुनःस्थापना केन्द्र स्थापनाका लागि आफूले पहल गरिरहेको र पाँच स्थानमा तत्कालै बहुआयामिक केन्द्र संचालनमा आउने जानकारी दिइन् ।

समाजमा व्याप्त बोक्सी, छाउपडी, दाइजो र तिलक जस्ता कुरीतिजन्य प्रथाको अन्त्यका लागि निकै पहल गर्दा पनि संस्कार तोड्न नसकिएको र यसको अन्त्य गर्न आवश्यकताअनुसार सचेत धक्का दिनुपर्ने उनको भनाइ थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।