maमाघ २८– नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले देशलाई निकै संकटमा पुर्याएर विदेशीको हातमा सुम्पन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आतुर देखिएको बताएका छन् ।
रोल्पा पुगेका गजुरेलले कार्यकर्ता भेटघाट कार्यक्रममा सिक्किमका लेण्डुप दोर्जे जस्तै एमाओवादीका नेताहरुले विदेशीहरु सामु घुडा टेकेर देश अर्काको हातमा बुझाउँदै गरेको भन्दै खबरदारी समेत गरे ।
आगामी फागुन १ मा रोल्पाको थबाङबाट क्रान्तिबारे ‘नयाँ कार्यक्रम’ घोषणा गर्न उपाध्यक्ष गजुरेल रोल्पा पुगेका हुन् ।
सो क्रममा उनले अहिले मुलुक सबैभन्दा संकटमा पुगेको भन्दै अहिलेको राजनीतिक निकासका लागि नयाँ कार्यक्रम लिएर मुलुकको सार्वभौमसत्ता र राष्ट्रियता जोगाउन गाउँ गाउँमा पुग्नु परेको समेत उल्लेख गरे ।
क्रान्तिको विरोधमा लागेको र अवसरको खाडलमा चुर्लुम्म डुबेको दाहाललगायतका नेताहरु खलनायक बनेको समेत उनले जनाए ।
सोही कार्यक्रममा महासचिव रामबहादुर थापा बादलले अहिले छापामार युद्धको जमाना नभएको आफूहरु पुनः हतियार उठाएर छापामार युद्धमा फर्कने सोचाइमा नभएको भन्दै स्पष्ट पारे ।
अहिलेको विकसित युगमा हामीसँग जनता छन् । त्यसैले पुनः हतियार समाएर आन्दोलन गर्नुपर्ने आवश्यकता छैन उनको भनाई थियो ।
कार्यक्रममा पार्टी सचिव नेक्र विक्रम चन्दले स्वाधीनताको आन्दोलन जारी रहेको भन्दै रोल्पाली जनतालाई ठूला सपना देखाएर बलिदानीमा डोर्याउने दाहाल लगायतका नेताहरुलाई पुनः रोल्पामा आउन नदिने जनताको तयारी रहेको जनाए ।