माघ २८ – प्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ समुन्नत नेपालको लागि भ्रष्टाचारमुक्त समाज र सुशासन नै प्रमुख शर्तहरू रहेको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित समारोहमा उनले भने भ्रष्टाचारलाई जरैदेखि नकाटेसम्म समाजमा पक्षपात, भेद्भाव र शोषण रहिरन्छ र सोचेको जस्तो सुशासन कायम गर्न सकिंदैन, जसले नेपालको विकासलाई वर्षौंसम्म पछि धकेल्नेछ ।
आज विश्व समुदायकै चुनौतीपूर्ण कार्यको रुपमा रहेको भ्रष्टाचारजन्य कार्यले नेपाललाई पनि आक्रान्त पारेको स्वीकार गर्दै प्रधानमन्त्री डा भट्टराईले लोकतन्त्रलाई संस्थागत विकास र सुदृढीकरण गर्न स्वच्छ, पारदर्शी, जिम्मेवार र भ्रष्टाचारमुक्त राज्य संयन्त्रको स्थापनाबाट मात्र सम्भव रहेको बताए ।
कार्यक्रममा उनले आगामी जेठको मध्यसम्ममा अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्ने गरी केही दिनभित्रै राजनीतिक निकास निस्कने पनि बताए ।
देशमा विद्यमान लामो राजनीतिक गत्यावरोधको अँध्यारो सुरुङबाट अब हामी छिट्टै समाधानको उज्यालोतिर उद्धत हुँदै गएको उनको भनाई छ ।
आयोगका सचिव डा गणेशराज जोशीले अहिलको विषम परिस्थितिमा समेत आयोगले वर्षभरि गरेका काम कारबाहीका बारेमा प्रकाश पारेका थिए ।
आयोगले एक वर्षको अवधिमा १११ वटा मुद्दा दायर गरेको, जरिवानावापत रु ४७ करोड राजस्व उठाउन सफल भएको र एक हजार ९०० रोपनी जग्गा नेपाल सरकारको नाममा कायम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको उनले जानकारी दिए ।