माघ २८ – शिक्षक सेवा आयोगको विज्ञापनमा आवेदन फारम भर्दा विभिन्न जिल्लामा फरक फरक शुल्क नलिन राष्ट्रिय सतर्कता केन्द्रले ध्यानाकर्षण गराएको भए पनि शिक्षा मन्त्रालयले त्यस्तो शुल्क मान्य हुने जनाएको छ ।
“सम्बन्धित जिल्ला शिक्षा समितिले निर्णय गरेर आफ्नो कोषमा राख्ने गरी अनुकूलको शुल्क लिन पाउँछ, त्यसमा मन्त्रालयले हस्तक्षेप गर्दैन” शिक्षा मन्त्रालयका सचिव सोमलाल सुवेदीले भने ।
सचिव सुवेदीले विनारसिद र विना निर्णय शुल्क लिइएको पाइएमा त्यसको अनुगमन र कारवाहीको जिम्मेवारी सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गर्ने बताएको राससले जनाएको छ ।
केन्द्रले यही माघ २६ गते आयोगका नाममा पत्र पठाई फरक फरक शुल्क नदिन ध्यानाकर्षण गराएको थियो ।
फारमको न्यूनतम् शुल्क रु ५० मानिएपनि कतिपय जिल्लामा रु २०० सम्म लिने गरेको पाइएको छ ।
आयोगले गत पुस २० गते कवि १३ हजार शिक्षकलाई खुल्ला विज्ञापन गरेपछि अहिले देशभरका जिल्ला शिक्षा कार्यालयमा आवेदन दिनेको भीड लागेको छ ।








