माघ २७ – एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेटौँडाको बन्द रहेको कपडा उद्योग सञ्चालन गरिने बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा हेटौँडामा सम्पन्न महाधिवेशलाई हेटौँडाको ऐतिहासिक बनाउने उद्देश्यले महाधिवेशनमा पारित भएकोे आर्थिक क्रान्तिको सुरुवात पनि सोही कार्यबाट हुने बताए ।

राष्ट्र निर्माणमा अब उत्पादन र निर्माण कार्यलाई जोड्नै पर्ने भएकाले उत्पादनका लागि सङ्घर्षको नीति तय गरिएको भन्दै अध्यक्ष प्रचण्डले उत्पादन र निर्माण कार्यलाई क्रान्तिसँगै जोड्दै लैजाने बताए । उत्पादन कार्यको थालनी २०५७ सालदेखि बन्द रहेको एक हजार २०० मजदुर र कर्मचारीले रोजगारी पाउने हेटौँडाको कपडा उद्योगबाट गर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले पक्ष र विपक्षको नाममा राष्ट्रमा नकारात्मक सोच बढेको र नकारात्मक सोचले निर्माण कार्यमा बाधा पुग्ने हुनाले सबैलाई उत्पादन र निर्माणप्रति सकारात्मक सोच राख्न समेत आग्रह गरे । आर्थिक उन्नतिको यो अभियानमा सघाउन सञ्चारकर्मीलाई समेत उहाँले आग्रह गरे ।

पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले भने– “सबैजनाले मलाई शत्रुको पोको भनिरहनुभएको छ, तर मसँग अब अरू शत्रु छैनन् । मैले पहिला प्याकेजमा सहमति गरौँ भन्ने प्रस्ताव राखेँ त्यसमा असहमति भयो । फेरि स्वतन्त्र व्यक्तिको नेतृत्वको कुरा उठाएँ त्यसलाई पनि अस्वीकार गरियो । यस अवस्थामा सबैको सर्वमान्य हुने न्यायपालिका रहेकाले प्रधानन्यायाधीशको नेतृत्वमा सहमतीय सरकार मेरो निर्विकल्पको विकल्प हो । अब यसमा पनि सहमति नजुटे लडेर जसले जित्यो उसैको नेतृत्व भन्ने हुन्छ तर त्यो जनहितमा नभएकाले यही विकल्पमा सहमति गरी राष्ट्र निकासको प्रयास गर्छौं ।” सो विकल्प पुष्टि गर्न उहाँले बङ्गलादेशलगायत उदाहरणको चर्चा गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।