माघ २६– एकीकृत नेकपा माओवादीले विपक्षी दलहरुले गैरराजनीतिक व्यवहार प्रदर्शन गरेको आरोप लगाएको छ ।
पार्टीको तर्फबाट प्रधानन्यायाधीशको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्तावलाई विपक्षीले अस्वीकार गरेकोप्रति आश्चर्य प्रकट गर्दै माओवादीले यस्तो जनाएको हो ।
हेटौंडामा माओवादीको महाधिवेशनस्थल परिसरमा आयोजित नियमित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता अग्नि सापकोटाले विपक्षी दलहरु निर्वाचनमा जान्छौँ पनि भन्ने, सरकार फेरौँ पनि भन्ने तर आफ्नो पार्टीले ल्याएको प्रस्ताव अस्वीकार गरेको देख्दा आश्चर्यमा परेको जनाए ।
उनले विपक्षी दलहरु सहमतिका लागि तयार नभएको र उनीहरुको नियतमा नै खोट रहेको भन्दै विपक्षीको गैरजिम्मेवार व्यवहारका कारण विगतमा पनि सहमति हुन नसकेको पनि जनाए ।
देशलाई परेको सङ्कट टार्न यस खालको प्रस्ताव ल्याइएको उल्लेख गर्दै उनले आफ्नो पार्टीले प्रस्तुत गरेको पछिल्लो प्रस्तावलाई अस्वीकार गरिए देश भड्खालोमा पर्नेसमेत बताए ।
यस्तै, उनले आज बिहान बसेको एमाओवादी केन्द्रीय पदाधिकारीको बैठकले एमाओवादी केन्दीय समिति १५१ सदस्य बनाउने निर्णय गरेको जानकारी दिए ।
आज बन्दसत्रले ९९ जनाको केन्द्रीय समिति निर्वाचित गर्ने र बाँकी सदस्यलाई पछि मनोनित गरिने बताइएको छ । नयाँ केन्द्रीय कार्यसमिति निर्माण गर्दा पुरानो केन्द्रीय कार्यसमितिलाई प्राथमिकता दिइएको बताइएको छ ।