हिमांशु चौधरी, २६ माघ । स्थानीय जानकी वृद्धाश्रमका अधिकांश वृद्धाले आफ्नै सन्तान र पतिबाट पीडा भोग्नु परिरहेको छ ।
वृद्धाहरू घरमा अनावश्यक बोझ ठानिएका, पतिबाट भएको हिंसा सहन गर्न नसकेका र छोराछोरीद्वारा तिरस्कृत वृद्धाको सङ्ख्या सो वृद्धाश्रममा अधिक रहेको छ ।
महिलाका अभिभावक र संरक्षक मानिने पति नै पीडक बनेपछि तुलसा पोखरेल, मोनमाया क्षेत्री, दीपा भट्टराई र लीलादेवी ढकाललाई घरको न घाटको हुनुपर्ने अवस्था छ ।
जनकपुरमा करोडौँको सम्पत्ति रहेको पैँतालिस वर्षीया पोखरेलको पतिले अर्को श्रीमती ल्याएपछि कहालीलाग्दो जीवन सुरु भएको हो ।
‘पति देवो भव’लाई आत्मसात् गर्दा पनि पतिबाट तिरस्कृत भएपछि वृद्धाश्रममा बस्न बाध्य भएको पोखरेल बताउँछिन् । उनी प्रश्न गर्छिन्– महिला पराधीन र शासित कहिलेसम्म भइरहने ।
त्यस्तै व्यथा मोनमायाको पनि छ । पतिले अर्को श्रीमती ल्याएर उपेक्षा गरेपछि उनी वृद्धाश्रममा न्यायका लागि गुहार गरिरहेकी छिन् । उनी भन्छिन्– आश्रममा १७ वर्षदेखि जिउँदो लाश झैँ जीवन बिताइरहेकी छु ।
सात वर्षमै बिहे भएको र पतिले बेवास्ता गरेपछि दीपा पनि मरेतुल्य जीवनको शिकार भएकी छिन् ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक परम्पराका आडमा श्रीमान स्वाधीन र श्रीमती पराधीन हुनुपर्ने मनोवृत्तिका कारण पनि कतिपय महिला प्रताडित रहेका छन् ।
यस्तै संझादेवी यादव, रूपा कार्की, मुगमाया क्षेत्री, ज्ञानु अधिकारी, मीनादेवी थापा, हस्तमाया, फूलोदेवी पनि नारकीय जीवन जीउन बाध्य छन् । उनीहरू पारिवारिक रूपमा आलोचित, सामाजिक रूपमा तिरस्कृत र व्यक्तिगत रूपमा टुहुरा अवस्थामा रहेका छन् ।
आश्रममा रहेकी ४८ वर्षीया गौरी भण्डारीको मानसिक रूपमा विक्षिप्त बनेर जीउनुपर्ने अवस्था छ । उनका पति सेनामा छन्, उनी पनि निजी विद्यालयमा पढाउने काम गर्थिन्, तर छोराछोरी जवान भएपछि मरेका कारण मानसिक सन्तुलन गुमाएर उनी आश्रममा बस्दै आएकी छिन् ।
मानवीय दृष्टिमा वृद्धा पनि मानव नै हुन् तर वृद्धा भएपछि पति, छोराछोरी, बुहारीबाट बोझ ठानिएका वृद्धा पनि वृद्धाश्रममा बस्दै आएका छन् । गङ्गादेवी यादव, मोहमाया, देवी घिमिरे, मानकुमारी पौडेल, गनमाया दाहाल र देवकी देवीको अवस्था कारुणिक रहेको छ ।
गङ्गाको जनकपुरमा तीनतले पक्की घर र दुई छोरा भए पनि वृद्धाश्रमलाई आफ्नो घर बनाउनु परेको छ ।
देवी घिमिरेको भैरहवामा आफ्नै घर, दुई छोरा, दुई छोरी छन् तर उनी पनि वृद्धाश्रममा बसिरहेकी छिन् । उनी भन्छिन्– जनकपुर तीर्थस्थल भएकाले जनकपुरमै बसिरहेकी छु ।
कटारी घर भएकी मानकुमारीको व्यथा उनीहरूभन्दा फरक छ । आफूसित भएको सम्पत्ति छोरीलाई लेखिदिएपछि छोरीबाटै तिरस्कृत भएर उनी आश्रममा आएकी हुन् । उनी भन्छिन्– ‘सम्पत्ति सबै छोरीलाई लेखिदिएँ, अहिले बेसहारा भएकी छु ।’
मधेपुरा घर भएकी मोहमाया नातिको घर फर्काउने आश्वासनमा जीवन बिताइरहेकी छिन् । उनका दुई छोरा र दुई छोरी भए पनि घरमा बस्ने अवस्था नआएपछि उनी आश्रममा आएकी हुन् ।
उनी भन्छिन्– ‘नातिले विदेशबाट फोन गरेर भन्छ म आएपछि तपाइँलाई पाल्छु ।’ रासस




