माघ २४ – सूचना प्रविधिका क्षेत्रमा विकास भएका नयाँ प्रविधिको जानकारी गराउने उद्देश्यले सूचना प्रविधि मेला आजदेखि यहाँ सुरु भएको छ ।

पाँच दिनसम्म चल्ने प्रदर्शनी मेला ‘मिदास क्यान इन्फोटेक २०१३’ भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सुरु भएको हो ।

मेलाको उद्घाटन गर्दै विज्ञान, प्रविधि तथा वातावरण सचिव केशवप्रसाद भट्टराईले सूचना प्रविधि क्षेत्रको विकासका लागि रणनीतिक योजना बनाउने तयारीमा सरकार रहेको जानकारी दिए ।

ऊर्जा सङ्कटले सूचना प्रविधिको क्षेत्रलाई नकारात्मक असर पु¥याएको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा आउने वर्षेनी तीन हजार भन्दा बढीको दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन पहल गरिने बताए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले निजी क्षेत्र र सरकार मिलेर यस क्षेत्रको विकास र प्रवद्र्धनमा लाग्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रदीपजङ्ग पाण्डेले ऊर्जा सङ्कटले सूचना प्रविधि क्षेत्र पनि सङ्कटमा परेको भन्दै यस क्षेत्रको विकासमा सरकारले प्राथिमकतामा दिनुपर्ने उल्लेख गरे ।

क्म्प्युटर एसोसिएशन आफ नेपाल(क्यान) का अध्यक्ष विनोद ढकालले सूचना प्रविधिको पहुँच नेपाली जनतासमक्ष पु¥याउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताए ।

मेलामा इ–डेमोक्रेसी, डिजिटल सोसाइटीमा अभिव्यक्ती स्वतन्त्रतालगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । चार लाख ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको यस मेलामा २१९ वटा बिक्री कक्षहरू राखिएका छन् । १९९२ मा स्थापना भए पश्चात क्यानले प्रत्येक वर्ष ‘क्यान इन्फोटेक’ सञ्चालन गर्दै आएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।