पेरिस – प्रतिसाता २० घण्टाभन्दा अधिक समय टेलिभिजन हेर्ने पुरुषमा निकै कम टेलिभिजन हेर्ने वा हेर्दै नहेर्ने व्यक्तिको तुलनामा शुक्राणुको सङ्ख्या आधा हुने गरेको मङ्गलबार प्रकाशित एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अमेरिकी अनुसन्धानकर्ताहरूले यसका लागि १८ देखि २२ वर्ष उमेर समूहका १८९ युवकलाई उनीहरूको शारीरिक अभ्यास, खाना तथा टीभी हेर्ने बानीका विषयमा प्रश्न गरेका थिए र यसपछि उनीहरूको शुक्राणुको नमुना लिइएको थियो ।

यस अनुसन्धानमा प्रतिसाता २० घण्टाभन्दा बढी टीभी हेर्ने युवकमा निकै कम हेर्ने वा हेर्दै नहेर्ने युवकको तुलनामा ४४ प्रतिशत कम शुक्राणु फेला परेको थियो ।

शुक्राणु कम हुनुको प्रमुख कारण युवकले गर्ने शारीरिक अभ्यास पनि परेको बताइएको छ । यो अनुसन्धान प्रतिवेदन ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशन भएको छ ।

प्रतिसाता १५ वा सोभन्दा बढी घण्टा शारीरिक अभ्यास गर्ने युवकमा प्रतिसाता पाँच घण्टाभन्दा भन्दा कम शारीरिक अभ्यास गर्ने युवकमा भन्दा ७३ प्रतिशत बढी शुक्राणु देखिएको छ । शुक्राणुको मात्रा निकै कम हुने पुरुषले महिलालाई सन्तान जन्माउन सहयोग गर्न सक्दैनन् ।

अन्य धेरै मुलुकमा गरिएको अध्ययनमा हाल धेरै दशकपछि शुक्राणुको गुणस्तर घट्न थालेको देखिएको छ । यसको वास्तविक कारण हालसम्म फेला पर्न सकेको छैन तर पनि वैज्ञानिकहरू मानिसको जीवनशैलीमा भएको परिवर्तनका कारण यस्तो भएको अनुमान गरेका छन् ।

उक्त अध्ययनमा म्यासाचुसेट्सको हावार्ड स्कुल अफ पब्लिक हेल्थका पोषण तथा रोग सङ्क्रमणका सहायक प्राध्यापक जर्ज चारेभो पनि संलग्न थिए । उनले यस अध्ययनमार्फत पुरुषमा शारीरिक अभ्यासको महत्वका विषयमा परीक्षण गर्न सकिएको बताए ।

उनले यस अध्ययनमा निकै कम स्वयंसेवी उपयोग भएको तथा उनीहरूबाट एकपटक मात्र शुक्राणु लिइएको उल्लेख गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।