माघ २१ – कतिपय नेपाली कतै नुन किन्न नपाएर त कतै नुन किन्न नसकेर नुन बिनाको तरकारी खाएका समाचार सुनिदै आएको छ।

तर वर्तमान सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवको सम्पत्तिमा भने ७५ तोला सुन मात्र भएको विवरण मन्त्रिपरिषद् कार्यालयमा पेश भएको छ।

सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण आइतबार प्रस्तुत गरेको ठाउँमा ७५ तोला सुन भएको उल्लेख गरेका छन् ।

यादवले आफ्नो नामको जग्गा विवरणमा नसमेटे पनि सम्पूर्ण परिवारका सदस्यको नाममा रहेका जग्गालाई विवरणमा समेटेका छन् । मन्त्री यादवका दाजु वेचन यादवको नाममा लहान नगरपालिकामा तीन तले घर साथै काठमाडौं कलङ्कीमा ६ आना र लहान नगरपालिकामा १० धुर जग्गा रहेको उल्लेख गरेका छन् । यादवले सुनलाई आफ्नो सम्पत्ति नभनेर पैतृक सम्पत्तिका रुपमा पेश गरेका हुन । उनले पेश गरेको विवरणमा सिराहा चन्द्र अयोध्यापुरमा बाबु गङ्गाराम यादव र आमा नेपुरदेवी यादवको नाममा २५ बिघा जग्गा रहेको समेत उल्लेख गरिएको छ ।

यादवले आफ्नै नाममा भने एभरेस्ट बैंकमा तीन लाख रुपैयाँ मात्र भएको विवरण प्रस्तुत गरेका छन् । यादवले श्रीमती सरिता यादवको नाममा ग्लोबल आइएमईमा रु सात लाख र राष्ट्रिय वाणिज्य बैंकमा रु पाँच लाख रुपैयाँ रहेको विवरण समेत बुझाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।