डेकेन्द्र मुद्धा विरुद्ध बोल्ने कानुन व्यवसायी तथा मानवअधिकारकर्मीमाथि दैलेखी पत्रकारहरुको धम्की

माघ १८ – दैलेखका पत्रकारहरुले द्धन्द्धकालमा मारिएका पत्रकार डेकेन्द्र थापा मुद्धाका विरुद्धमा बोल्नेलाई जे पनि हुन सक्ने भन्दै धम्की दिएका छन् ।
असुरक्षाका कारण भन्दै ६ दिनपछि पुनः दैलेख फर्किएका उनीहरुले दैलेखमा आयोजित एक सार्वजनिक कार्यक्रममै यस्तो धम्की दिएका हुन् ।

क्रान्तिकारी पत्रकार महासंघ दैलेखले बुधबार दैलेखमा आयोजना गरेको बृहत शान्ति सम्झौता र संक्रमणकालिन न्याय विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताले बोलिरहेकै अवस्थामा यस्तो धम्की दिएर पत्रकारहरु कार्यक्रमस्थलबाट बाहिरिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दैलेख अगाडी आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा अधिवक्ता तथा ल क्याम्पसका प्रोफेसर डा. गोपाल सिवाकोटीले बृहत शान्ति सम्झौताका विषयमा आफ्नो धारणा राखिरहेका बेला एभिन्युजका दैलेख संवाददाता भुपेन्द्र शाहीले आफूहरु भाषण सुन्न नआएको भन्दै डेकेन्द्र मुद्धाका विरुद्ध बोलेमा जे पनि हुन सक्ने भन्दै चेतवानी दिए । यस्ता कुरा गर्ने हो भने (डेकेन्द्र मुद्धा विरुद्ध) यहाँ जे पनि हुन सक्छ । तपाईहरुलाई राम्रो हुने छैन उनको भनाई थियो ।

स्रोतका अनुसार यसरी धम्की दिने शाही राप्रपा दैलेखका सचिव हुन् ।

यसैगरी, नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष पुष्कर थापाले पनि डेकेन्द्र मुद्धाका कारण देश डुबे पनि डुबोस् भन्दै उक्त विरुद्ध बोल्नेलाई नछाड्ने चेतावनी दिए । उनले आफ्नो ठाउँमा आएर यस्ता कुरा बोलेमा नराम्रो हुने धम्की दिए । उनी प्रेस युनियन सम्वद्ध हुन् ।

कार्यक्रममा डा. सिपाकोटीले विषयवस्तुमा धारणा राख्न सुरु गरेको आधा घण्टा जतिमै भाषण सुन्न नआएको भनेर निहूँ खोज्न सुरु गरेका उनीहरुले यस्तो धम्की दिएपछि आफूहरु कार्यक्रममा बस्न आवश्यक नरहेको भन्दै होहल्ला गर्दै कार्यक्रमबाट बाहिरिएका थिए ।

कार्यक्रम बिथोल्ने पत्रकारहरु यसअघि सुरक्षाको कारण देखाउँदै दैलेख छाडेर लगभग हप्ता दिन सुर्खेतमा बसेका थिए । उनै पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ लगायतले पुनःस्थापना गरेर महासंघको टोलि भने राजधानी फर्किसकेको छ ।

उनै पत्रकारहरुबाट कानुन व्यवसायी तथा मानवअधिकारकर्मीहरुमाथि डेकेन्द्र हत्या मुद्धाका विरुद्ध बोल्नेमाथि धम्की आएपछि उनीहरु भने चिन्तित बनेका छन् ।

यसैबीच, डेकेन्द्र हत्याका अभियुक्त ५ जनाको बयान बुधबार सकिएको छ । बयानमा उनीहरु केहीले आफूहरु घटनामा संलग्न नभएको बयान दिएका छन् भने केहीले माओवादी विरुद्ध सुराकी गरेकाले माथिको आदेश अनुसार उनको हत्या भएको तर बाहिरी मिडियामा आएजस्तो गरी भने हत्या नगरेको बताएका छन् ।

उक्त मुद्धामा बहस आजदेखि सुरु हुँदैछ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।