माघ ९ – सोलुखुम्बुको जुबुका मैयाँ बस्नेतले जन्माउनुभएका तिम्लाहा छोरीको मृत्यु भएको छ ।
गत पुस २१ गते जन्मिएका सबैको मृत्यु भएको स्थानीय सामाजिक परिचालक विश्वेश्वर राईले जानकारी दिनुभयो । ३० वर्षीया मैयाँले सामान्य प्रसव व्यथापछि घरमै तीनजना छोरीको जन्म दिनुभएको थियो । तर तीमध्ये कसैलाई पनि बचाउन नसकिएको जुबु स्वास्थ्य चौकीका अनमी मनोहरा राईले बताएको राससमा उल्लेख छ ।
गर्भ रहेको आठ महिनामा जन्मिएको र समयअगाडि जन्मिएको कारण पनि बचाउन नसकिएको अनमी राईको भनाइ छ । सुत्केरी भएको अवस्थामा भने बच्चाको अवस्था सामान्य रहेको थियो ।
बस्नेतले यसअघि चारजना छोरी जन्माई सक्नुभएको थियो । पाँचौँपटकमा भने एकैपटक तीनजना छोरी जन्मिएका थिए । सुत्केरी मैयाँको अवस्था भने सामान्य रहेको बताइएको छ ।
Comments