काठमाडौं २४ भदौ

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन् । शुक्रबार सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले अचल सम्पत्ति नरहेको र आफूसँग केही बैंक ब्यालेन्स, सञ्चार सामाग्री र सामान्य अत्यावश्यक फर्निचरहरु मात्रै रहेको बताए ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार आफ्नो नाममा एभरेष्ट बैङ्क लिमिटेड पुल्चोक शाखामा आठ लाख १५ हजार दुइसय ६७ रुपैया ७१ पैसा र नेपाल बंगलादेश बैङ्क कमलादी शाखामा १३ हजार नौ सय ९३ रुपैया ८० पैसा बैंक मौज्दात रहेको उल्लेख छ ।
सो रकम संविधानसभा सदस्य, मन्त्री तथा व्यववस्थापिकाको प्रमुख सचेतकको रुपमा रहँदा प्राप्त पारिश्रमिक रहेको उनको भनाई छ ।
यसअघि दुई पटक मन्त्री बनेका पोखरेलसँग दुई वटा ल्यापटप, डिजिटल क्यामरा, कम्युटर प्रिन्टर, डेस्कटप कम्युटर, भिडियो क्यामरा र केही फर्निचरका सामानहरु रहेका विवरणमा उल्लेख छन्।
। मन्त्री पोखरेलको बुबाको नाममा खोटाङ्ग जिल्ला लामीडाँडा गाउँपालिका २ मा २३ रोपनी जग्गा रहेको छ । जुन सम्पत्ति पैत्रिक सम्पत्तिको रुपमा रहेको छ। उक्त जग्गामध्ये मन्त्री पोखरेलको अंशमा पर्ने जग्गा कनककुमारी स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको छ।
यस्तै स्वास्थ्य मन्त्री पोखरेलले खोटाङ्गस्थित रुपाकोट सामुदायिक रेडियोमा पाँचहजार रुपैँया सेयर रहेको उल्लेख गरेका छन् ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।