पुस १९, रासस – सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट नेलेतर्फ जाँदै गरेको जिप जोगारा सडकखण्डमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बुधबार बेलुकी ८ बजेतिर बा९च ७९६२ नम्बरको मुस्ताङ म्याक्स जिप न्यूट्रलमा राखेर जिप चालक तेल हाल्न बाहिर निस्कँदै गर्दा जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा नेले–७ सोलुखुम्बुकी कल्पना बस्नेत, नेले–२ की जमुना राई, नेले–७ का भरत कटुवाल, सीता थापा र सरिता गुरुङ घाइते भएको प्रहरी नायब उपरीक्षक सुदनसिं बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते एकजनाको नाम खुल्न सकेको छैन भने दुईजनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको सोलु अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तेल हाल्नका लागि सिटबाट बाहिर निस्कँदै गर्दा दुर्घटना भएकाले जिप चालक दोलखाका जगन्नाथ बम्जन भने सकुशल रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।