एजेन्सी, वासिङटन – अमेरिकामा हालै एक विद्यालयमा एक व्यक्तिले चलाएको गोलीका कारण २० बालबालिकाको मृत्यु भएपछि बन्दुकका विषयमा सशक्त वकालत गर्ने समूह नेसनल राइफल एसोसिएसनले (एनआरए) प्रत्येक विद्यालयमा सशस्त्र प्रहरी तैनाथ गर्न सुझाव दिएको छ ।


कनेक्टिकटको एक प्राथमिक विद्यालयमा गत साता भएको आमहत्याका विषयमा प्रतिक्रिया दिन दबाब परेपछि यस समूहले यस्तो प्रतिक्रिया व्यक्त गरेको हो । यस समूहले अमेरिकी संविधानमा रहेको हतियार राख्न पाउने अधिकारलाई विभिन्न तरिकाले व्याख्या गर्ने गरेको छ ।

हालै अमरिकाको पेनिसिलभेनियामा बन्दुककै गोलीका कारण थप चार व्यक्तिको मृत्युभएको छ । न्युटाउन प्राथमिक विद्यालयमा आमहत्यापछि बन्दुकको बिक्रीमा प्रतिबन्ध लगाउन अनेकौँ व्यक्तित्वहरूले आग्रह गरेका छन् । बन्दुकको समर्थन गर्ने यस समूहले यस विषयमा आफ्नै तर्क राखेको छ ।

‘बन्दुक लिएका एउटा खराब मानिसलाई रोक्ने एक मात्र उपाय बन्दुक बोक्ने राम्रो मानिस हो ।’’ एनआरएका उपाध्यक्ष वायन लापिएरले शुक्रबार बताउनुभयो । कनेक्टिकटको न्युटाउनस्थित स्यान्डी हुक प्राथमिक विद्यालयमा भएको आक्रमणपछि यो यस समूहको पहिलो प्रतिक्रिया हो ।

उनले यस विषयमा एउटा लामै विज्ञप्ति प्रकाशन गरेका छन् । उनले अमेरिकी संसदलाई प्रत्येक विद्यालयमा सशस्त्र प्रहरी तैनाथ गर्न सकेसम्म प्रयास गर्न पनि आग्रह गरेका छन् ।

लापिएर आफ्नो संस्था विद्यालयका सुरक्षा समूह, शिक्षक तथा आमाबाबुलाई सुरक्षाको विषयमा सहयोग गर्न तयार रहेको उल्लेख गरे । उनले आमसञ्चार तथा राजनीतिक समूहले बन्दुकधनीको मनोबल गिराएको पनि आरोप लगाए ।

यसबीच अमेरिकामा राष्ट्रपति बाराक ओबामाले घातक हतियारमाथि प्रतिबन्ध लगाउन प्रयास थालेका छन् । अमेरिकामा सन् १९८२ देखि हालसम्म ६२ वटा आमहत्याका घटना भएका छन् र ती घटनामध्ये अधिकाँशमा बन्दुकधारीले कानुनी रूपमा खरिद गरेको अर्धस्वचालित हतियार प्रयोग गरेको देखिएको छ ।

अमेरिकामा सन् २००९ मा ३१ करोड बन्दुकजन्य हतियार रहेको देखिएको थियो । यसले प्रत्येक अमेरिकी नागरिकले बन्दुक राखेको देखाउँछ । यसैगरी अन्य मुलुकको तुलनामा अमेरिकामा बन्दुकबाट मर्नसकिने सम्भावना २० प्रतिशत अधिक रहेको देखिन्छ । लापिएरले अमेरिकामा बन्दुकको स्वामित्व समस्या नभएको दाबी गरेका छन् ।

यस भनाइप्रति अमेरिकामा बन्दुक नियन्त्रण गर्नुपर्छ भन्ने समूहबाट तत्कालै विरोध स्वरूप प्रतिक्रिया आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।