एजेन्सी, सोल – दक्षिण कोरियाली कलाकार साइको युटुब सङ्गीत भिडियो ‘‘गङनम स्टाइल’’ इन्टरनेटबाट शनिबारसम्म एक अर्बभन्दा बढीपटक डाउनलोड गरिएको देखिएको छ र यसलाई इन्टरनेटमा एउटा कोसेढुङ्गाको रूपमा हेरिएको छ ।

‘‘गङनम स्टाइल’’ जुलाइ १५ मा इन्टरनेटमा राखिएको हो र शुक्रबार यो भिडियोको डाउनलोड एक अर्बपटक भएको देखिएको छ । त्यसै पनि साइको सङ्गीत तथा नृत्यको प्रचार र प्रशंसा विश्वभर देखिएको छ ।

शनिबार डाउनलोडको सङ्ख्या १,००,८२,८६,५३५ पुगेको छ । साइले ट्विटरमा ‘‘गङनम स्टाइल’’ अब ‘‘बिलियन स्टाइल’’ बनेको उल्लेख गरेका छन् ।

यसका लागि साइलाई अमेरिकी सङ्गीतकार एमसी ह्यामरले बधाइ दिएका छन् र उनले साइले यसबाट सङ्गीतको विश्वमा इतिहास बनाएको उल्लेख गरेका छन् ।

साइको भिडियो डाउनलोड गत पाँच महिनामा निकै बढेको थियो र उनले यसबीच म्याडोनादेखि संयुक्त राष्ट्र सङ्घका महासचिव कोफी अन्नानसम्मका व्यक्तित्वसँग आफ्नै सङ्गीतका विषयमा भेट गरेका छन् ।

‘गङनम स्टाइल’ कै आधारमा अमेरिकी राष्ट्रपति पदको निर्वाचनदेखि विश्वका प्रमुख घटनामा सङ्गीत भिडियो बनेका छन् । बिलबोर्ड डट कमले ‘‘गङनम’’ ले युटुबबाट मात्रै २० लाख अमेरिकी डलर कमाएको अनुमान गरेको छ । उनले यस सङ्गीतबाट गत पाँच महिनामा ६० लाख अमेरिकी डलर भन्दा बढी रकम कमाएको अनुमान गरिएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।