देशमा राजसंस्था हटेपछि बैंककमा बस्दै आएका उनले एक निवेदनमार्फत यस्तो अपिल गरेका हुन् ।
उनको निवेदनमा केही समय अगाडीदेखि आफूमाथि विभिन्न बहानामा अनेक प्रकृतिका लान्छना तथा मानसिक यातनासहित आर्थिक शोषणदेखि ज्यानमार्नेसम्मको धम्की आएको उल्लेख छ ।
प्राप्त समाचार अनुसार उनले भारतीय मुलका पहिचान भएका व्यक्तिहरुबाट असुरक्षित हुँदै आएको महसुस भएको भन्दै भारतीय दूतावास र थाई प्रहरीसँग पनि ती व्यक्तिहरुको पहिचान गरी आफ्नो जिउधनको सुरक्षाका लागि अपिल गरेका छन् ।
यसअघि पारस शाहमाथि भारतीय छोटा राजन समूहबाट सुरक्षा थ्रेट विषयक समाचार अनलाइनखबरले यसरी छापेको थियो:
(अनलाइनखबर) पूर्वयुवराज पारस यतिबेला चर्चामा छन् । थाइल्याण्डमा चरेस या केटीकाण्डमा समातिएको चर्चा सेलाउन नपाउँदै उनीमाथि भारतीय छोटा राजन समूहबाट सुरक्षा ‘थे्रेट’ रहेको अर्को चर्चा शुरु भएको छ । यहीबेला अनलाइनखबरले चाँहि पूर्वयुवराज पारसलाई भारतले अन्डरवल्र्डका आतंककारी दाउद इब्राहिमसँग कसरी जोडेको रहेछ भन्ने तथ्य फेला पारेको छ ।
आजभन्दा तीनवर्षअघि भारतको चर्चित पत्रिका ‘टाइम्स अफ इण्डिया’को अनलाइन संस्करणले नेपालका पूर्वयुवराज पारस र पूर्वमन्त्री सलिम मिया अन्सारीका छोरा युनुस अन्सारीलाई भारतीय आतंककारी सञ्जाल अण्डरवल्र्डका दाउद इब्राहमसँग मिलेर नक्कली भारतीय नोटको कारोबार गरिरहेको ठोकुवा गरेको थियो । सो पत्रिकाले पारस सिंगापुरमा शरण लिएर बसेको उल्लेख गरेको थियो ।
नेशनल टेलिभिजनका अध्यक्ष युनुश अन्सारी अहिले नेपालको जेलमा सुरक्षित रहेका छन् । पूर्वयुवराज पारसमाथि पनि युनसलाई जस्तै सुरक्षा चुनौती रहेको चर्चा चलेको छ ।
नेपालीमाथि सिलसिलेबार हत्या
भारतीय मिडिया र त्यहाँका अतिवादी समूहले कतिपय मुस्लिम समुदायका नेपालीलाई पाकिस्तानसित मिलेको र नक्कली भारुको कारोबार गरेको जस्तो संगीन आरोप लगाउँदै नेपालभित्रै पसेर सिलसिलेबार हत्या गर्दै आएका छन् ।
भारतीय पत्रिकाले दाउद इब्राहिमसँग पारस र युनुसलाई जोडेर लेखेपछि त्यसैका आधारमा अन्सारीमाथि केन्द्रीय कारागारभित्रै अहमद खान नाम गरेका एक भारतीयले ०६७ फागुन २६ मा हत्याको प्रयास गरे । ती भारतीय हाल थुनामा छन् ।
भारतले उसको देशमा मुम्बई हमलाका आरोपी पाकिस्तानी नागरिक कसाबलाई हालै मृत्युदण्ड दिएको छ, तर नेपालको केन्द्रीय कारागारमा बन्दूक चलाउने कुख्यात भारतीय अपराधीलाई मृत्युदण्ड दिने कानुन नेपालमा छैन ।
पूर्वसांसद् मिर्जा दिलसाद बेग काठमाडौंमै भारतीय अपराधीद्वारा मारिए । सञ्चार उद्यमी जमीम साहलाई पनि यस्तै आरोपमा भारतीयद्वारा काठमाडौंमा दिन दहाडै हत्या गरियो । नेपाल इस्लामिक संघका महासचिव फैजान अहमदलाई राजधानीको घण्टाघरमा दिनदहाडै गोली हानी हत्या गरियो ।
हत्याको यही सिलसिलामा भारतीय अपराधीले केन्द्रीय कारागारभित्रै पसेर युनुस अन्सारीलाई हत्याको प्रयास गरेका छन् भने युनुसलाई जस्तै पारसलाई पनि भारतीयहरुले दाउदसित मिलेको र नक्कली भारुको कारोबार गरेको संगीन आरोप लगाइसकेका छन् । अन्सारी र पूर्वयुवराज पारसमाथि भारतीयको एउटै आरोप छ ।
युनस जेल बाहिर रहेको भए अहिलेसम्म जीवित रहने थिएनन् भन्ने उनीमाथिको आक्रमणले पुष्टि गरिसकेको छ । पारसमाथि भने अहिलेसम्म त्यस्तो आक्रमण भैहालेको छैन ।
पारस र युनुसमाथि गम्भीर आरोप
सन् २००९ अगस्त ३१ तारेखका दिन बेलुका ६ः२५ बजे टाइम्स अफ इण्डियाले पोष्ट गरेको समाचारमा युनुस र पारस दुबैले आतंककारी दाउद इब्राहिमसँग मिलेर करोडौं नक्कली भारुको कारोबार गरेको ठोकुवा गरिएको थियो ।
नयाँ दिल्लीको डेटलाइनमा लेखिएको उक्त समाचारमा नक्कली भारुको कारोबारमा पूर्वयुवराज पारसको संलग्नता अनुसन्धानबाट खुलेको दाबी गरिएको थियो । भारतको मध्यप्रदेशमा नक्कली भारुसहित पक्राउ परेका दुई नेपालीको हुलिया दिँदै पारस र युनुस अन्सारीले नक्कली भारु कारोबार गरेको पत्रिकामा उल्लेख गरिएको थियो ।
पारस र युनुसलाई दाउदसित मिलेको आरोप लगाउने भनिएका भारतमा पक्राउ परेका नेपालीलाई केही समयपछि भारतीय समूहले प्रमाण नष्टका लागि बुटवलमा हत्या गरिसकेको छ ।
अन्सारी र पारसको सम्बन्ध भारतको अत्यधिक खोजीको सूचीमा रहेका आतंककारी दाउद इब्राहिमसँग रहेको दाबी गर्दै दाउदले नक्कली भारु उत्पादन गर्ने र पारसले भारततर्फ पठाउने गरेको टाइम्स अफ इण्डियामा दाबी गरिएको थियो ।
सो पत्रिकामा भनिएको थियो, ‘पारस नेपालका पूर्वराजाका छोरा हुन्, जो सिंगापुरमा शरण लिएर बसेका छन्, उनको प्रभावलाई प्रयोग गरेर नेपाल भारत सीमाक्षेत्रको ‘ट्रान्जिट पोइन्ट’ विना अवरोध नक्कली नोट पुर्याइने गरेको छ ।’
नेपालको कमजोरी
आफ्ना नागरिकमाथि भारतीय पक्षबाट यति ठूलो आरोप लाग्दा पनि नेपाल सरकारले यसमा कुनै चासो दिएन । नेपाल सरकारले भारतीय पक्षको यस्तो आरोपमाथि संवेदनशीलता अपनाउँदै दाउद र पारसवीचको सम्बन्धबारे न कुनै अनुसन्धान गरेको छ, न त विदेशीले लगाएको त्यस्तो गम्भीर आरोपको खण्डन नै ।
पहिले अपराधी करार गर्ने र त्यसपछि नेपालमा पसेर हत्या गर्ने भारतीय बन्दूकधारीहरुको परम्परा नै रहँदै आएको छ । नेपाल सरकारले भने मिर्जादेखि फैजानसम्मका कुनै हत्यारालाई पनि गिरफ्तार गर्न सकेको छैन । यसविपरीत जमिमको हत्यामा पैसाको प्रलोभनमा परेर नेपाल प्रहरीकै केही व्यक्तिको समेत संलग्नता रहेको अनुसन्धानमा खुलेको छ ।