पुष ३ – विघटित राजपरिषद् स्थायी समितिका सभापति डा केशरजङ्ग रायमाझीको सोमबार ९३ वर्षको उमेरमा निधन भएको छ ।
रायमाझीको सोमबार साँझ हृदयघातका कारण निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टीका पूर्व महासचिवसमेत रहेका रायमाझीको आफ्नै निवासमा निधन भएको हो ।
स्वास्थ्यमा समस्या उत्पन्न भएपछि केही दिन पहिले हिमालय हस्पिटलमा भर्ना भएका रायमाझीको स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनी गत मङ्सिर २९ गते अस्पतालबाट घर फर्किएका थिए ।
नेपालमा कम्युनिष्ट पार्टीको उदय गराउन महत्वपूर्ण भूमिका खेलेका रायमाझीले कालान्तरमा विचार परिवर्तन गरी पूर्व राजसंस्थासँग नजिक रहेका थिए ।
विसं १९८३ असारमा जन्मनुभएका रायमाझी नेपाल कम्युनिस्ट पार्टीको महासचिवसमेत बनेका थिए ।
विसं २०१० मा कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनेका रायमाझी विसं २०१४ मा फोहोरा दरबारमा भएको कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनबाट महासचिव बनि भई २०१७ सालसम्म महासचिव बनेका थिए ।
विसं २०१५ मा भएको आम निर्वाचनमा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले तीन हजार ६७१ मत प्राप्त गरेका थिए ।
विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि रायमाझी सोही राजनीतिक प्रणालीतिर ढल्केका थिए ।
नवलपरासीबाट २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका रायमाझीले २०४६ सालको जनआन्दोलनपछि शिक्षामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए ।
विसं २०५२ मा राजपरिषद् स्थायी समितिको सदस्य बनेका उनी २०५५ फागुन ७ गतेबाट राजपरिषद् स्थायी समितिको सभापति बनेका थिए ।
उनका दुई छोरा र एक छोरी छन् । राससको सहयोगमा