मङ्सिर ३० – मुलुकमा व्याप्त हत्या, हिंसा र भ्रष्टाचारको अन्त्य गर्न नागरिकहरुले माग गरेका छन् ।
विभिन्न जिल्लाका समाजसेवी, वद्धिजीवी तथा नागरिक समाजका अगुवाहरुले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी मुलुक बनाउने राजनीतिक दलका नेताहरु नै भ्रष्टाचारमा लिप्त भएको भन्दै त्यसलाई रोक्न आग्रह गरेका हुन् ।
राष्ट्रका प्रत्येक नागरिकलाई समानुपातिक दृष्टिकोणले आर्थिक सहयोगस्वरुप प्रतिव्यक्ति दैनिक रु १०० अनिवार्य दिने गरी नीति बनाउनुपर्ने नागरिक तथा वुद्धिजीवीहरुको भनाइ छ ।
खोटाङ जिल्लाका समाजसेवी जयन्द्र कुमार राईले प्रत्येक नागरिकले राष्ट्रको विकासमा ४ देखि ६ घन्टा काम गर्न घन्टाको न्यूनतम ३० देखि ५० रुपैयाँसम्म ज्याला पाउनुपर्ने माग गरे ।
राष्ट्रिय एकता सङ्घर्ष मञ्चका संयोजक किरण केसीले कर्मचारीतन्त्रले राजनीतिबाट अलग भई देश र जनताको काम गर्नुपर्ने बताए ।
रुपन्देही जिल्लाका समाजसेवी शिवप्रसाद रेग्मीले राजनीतिक दलका नेताहरु शान्ति र संविधानभन्दा पार्टी र व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाउँदै दलहरुले सहमति गरेर तत्काल राष्ट्रिय सरकार निमार्ण गर्नुपर्नेमा जोड दिएको राससमा उल्लेख छ ।
समाजसेवीहरु तेजबाहादुर बस्नेत, शङ्कर प्रदान, राजु तामाङ र राजेन्द्र नेपालीले आफ्ना माग पूरा नभए चरणबद्ध नागरिक आन्दोलन गर्र्ने चेतावनी दिए ।