मंसिर २४ – उपराष्ट्रपति परमानन्द झाले पत्रकारले विहान, दिउँसो र बेलुका बोली फेर्ने नेतालाई महत्व दिएकोले नै समस्या झनै गाँठो पर्दै गएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको पत्रकार टोलीसँग कुरा गर्दै उपराष्ट्रपति झाले पत्रकारले राजनीतिक दलहका नेतालाई बहिष्कार गर्नुपर्ने भन्दै राजनीतिक दलका नेतालाई महत्व नदिन आग्रह समेत गरे । ‘पत्रपत्रिकामा १५ दिनसम्म उनीहरुको कुरा नछापेर प्रोटेष्ट गर्नुस् त’ पत्रकारहरुलाई उनले भने ।
उपराष्ट्रपति झाले देशको राजनीतिक संकट समाधानका लागि राष्ट्रपतिलाई थप कदम चाल्न नेपाली जनता अगाडि बढ्नु पर्ने समेत बताएका छन् । झाले राजनीतिक निकासका लागि राजनीतिक दलले केही गर्न नसक्ने निश्चित भइसकेको अवस्थामा गाउँदेखि सहरसम्मका जनता उठ्नुपर्ने भन्दै भनेका छन् ‘अब गाउँ गाउँबाट जनता जागेर राष्ट्रपतिलाई निकासको लागि थप कदम चाल्न ब्याकफोर्सको रुपमा काम गर्नु पर्छ ।’
उपराष्ट्रपतिले राजनीतिक दलको हैसियत देखिएको र उनीहरुको शैलीले देशमा निकास ननिस्कने भन्दै भनेका छन् ‘संरक्षक र पालक भित्र के के पर्छ भनेर सर्वोच्चले व्याख्या गर्यो भने सबैको मुखमा बुझो लाग्छ ।’