मंसिर २२ – यसअघि माघ १५ मा राजधानीमा हुने भनिएको एकीकृत नेकपा माओवादीको २० वर्ष पछि हुन लागेको महाधिवेशन हेटौडामा माघ २० मा हुने भएको छ ।

माओवादीको शुक्रबार बिहान बसेको विस्तारित समिति बैठकले माघ १४ बाट काठमाडौँमा हुने भनेको महाधिवेशनको मिति परिवर्तन गर्दै माघ २० गते हुने निर्णय गरेको हो ।

एमाओवादीको आजको विस्तारित बैठकले माघ १९ गते सबै प्रतिनिधिले सम्पर्क गर्नुपर्ने समय तोकेको छ । एमाओवादीले महाधिवेशनको तयारीका लागि पार्टीका सम्पूर्ण संयन्त्र भंग गरी तयारी समितिमा परिवर्तन गरिसकिएको छ ।

एकीकृत माओवादीको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड २० वर्षदेखि अध्यक्ष रहेका छन् । माओवादीको महाधिवेशन यस अघि २०४८ सालमा चितवनमा भएको थियो । चितवनको महाधिवेशनबाट दाहाल माओवादीको महासचिव बनेका थिए ।
त्यसपछि माओवादी भूमिगत अवस्थामा रहदा भारतमा २०५७ सालमा भएको भेलाले दाहाललाई नै अध्यक्ष बनाउँदै सकिएको थियो ।

यस पटक पनि दाहाल नै अध्यक्ष बन्ने सम्भावना
एकीकृत नेकपा माओवादीबाट वैद्य पक्ष अलग्गिएपछि माओवादी भित्र अब अध्यक्ष बन्ने सम्भावना बोकेका व्यक्ति सकिए भन्दा खासै फरक नपर्ला । अतः यो पटकको महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल नै चुनिने लगभग पक्कापक्की जस्तै हो । वैद्य पक्ष नअलग्गिएको भए पार्टी उपाध्यक्ष मोहन वैद्य किरण तथा महासचिव रामबहादुर थापा बादल हुने सम्भावना बोके पनि उनीहरु अहिले प्रचण्ड र बाबुरामले आत्मसमर्पण गरिसकेको निष्ष्कर्षसहित अर्को पार्टी गठन गरिसकेका छन् ।

त्यसो हुँदा अहिले एमाओवादीभित्र उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भईसकेकाले उनलाई दिइने सम्भावना छैन । उता, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पनि पत्याई जाने कुरो रहेन । त्यस बाहेक अरुले पाइने त झनै सम्भावना नै छैन ।

अझै अहिलेको अवस्थामा अरुलाई जिम्मेवार दिइएमा कार्यकर्ताको चित्त बुझाउन समेत निक्कै गाह्रो छ । अझ, एमाओवादी भित्र केन्द्रदेखि स्थानीय तहसम्म प्रचण्डकै वर्चस्व रहेकाले पनि उनैले यो पटक पनि नेतृत्व कुम्ह्ल्याउने बढी सम्भावना छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।