तालाबाङ– ७ भसमाखोरका १७ वर्षीय दिलमाया पुन मगरले झन्डै दोब्बर उमेर भएका गाउँकै ३० वर्षीय स्थानीयवासीसँग बिहे गर्न नमानेपछि केटा पक्षले बिहेखर्च मागेको हो । केही वर्षदेखि दाङमा सिलाइकटाइ सिकिरहेकी मगरले बिहे गर्ने इच्छा नभएको बताएको भए पनि केटा पक्षले जबर्जस्त गर्न गर्न खोजेको बताइएको छ । “ मैले ऊसँग बिहे नगर्ने भनेर पटक पटक केटा पक्षलाई जानकारी गराए पनि केटा पक्षले भने जन्ती लिएर घरमै आई जबर्जस्त गर्न खोजे ”मगरले गुनासो गर्नुभयो ।
बहिनीले बिहे गर्न मानेकी छैन भनेर केटा पक्षसँग बारम्बार कुरा गरिए पनि आफ्नो कुराको बेवास्ता गरेको र यही मङ्सिर १४ गते नै जन्ती घरमा आएको दिलमायाका दाजु हस्तबहादुरले बताउनुभयो । कि बिहे गर्ने कि रु १० लाखबराबरको क्षतिपूर्ति दिनुपर्ने दबाब दिइएको हस्तबहादुरले जानकारी दिनुभयो ।
तीन दिनसम्म केटीको घरमा बसेका उनीहरुलाई प्रहरीले घर पठाए पनि अहिले आएर प्रहरी चौकी इरिबाङ ओबाङमा क्षतिपूर्तिका लागि उजुरी दिएका छन् । रासस