मंसिर १८ – उद्यमी अजय सुमार्गी मालिक रहेको नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल) मा कार्यरत प्राविधिक तथा अप्राविधिक गरी ३ दर्जनभन्दा बढि कर्मचारीलाई उक्त कम्पनीले जवर्जस्त निष्काशन गरेको छ ।

न्युनतम २ वर्षदेखि ५ वर्षभन्दा बढि समयसम्म काम गरेका कर्मचारीहरुले स–सम्मान पुनर्वहालीको माग गर्दै आन्दोलन गर्ने भएका छन् । निष्काशित कर्मचारीहरु नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल) इकाई कमिटीको नाममा आन्दोलन गर्ने तयारी भइरहेको इकाईका अध्यक्ष विरोध कट्टेलले जनाए ।

आन्दोलन गर्नकै निम्ति त्यहाँबाट निष्काशित ५० जना कर्मचारीहरुको यसैसाता सम्पन्न भेलाले इन्जिनियरसमेत रहेका कट्टेललाई अध्यक्षमा चयन गरेको थियो । उपाध्यक्षमा इ. सुरेश रिजाल छन् भने सचिवमा इ. रत्न चुडामणी न्यौपाने रहेका छन् । त्यस्तै सह–सचिवमा इ. तालबहादुर रावत र कोषाध्यक्षमा इ. उज्वल सुवेदी छन् ।

उक्त कमिटीले यसैसाता एकसुत्रीय माग राखी नयाँ बानेश्वरस्थित मालिक अजय सुमार्गीका नामले चर्चित मुक्ति टावरमा ज्ञापनपत्र बुझाउँदैछ । उक्त टावरमा नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल) की अध्यक्ष रहेकी सुमार्गी पत्नी श्रीमति अस्मिता समार्गीलाई सो पत्र बुझाएर निश्चित समायावधिको अल्टिमेटम दिने र यदि पुनर्वाहाली नगरे चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने अर्का उपाध्यक्ष सुरेश रिजालले बताए ।

पीडित कर्मचारीहरुले सबै सञ्चारमाध्यमलाई सम्बोधन गरी न्यायका लागि वातावरण सिर्जना गरिदिन भन्दै सहयोगको अपिलसमेत गरेका छन् । ‘नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल)का मालिक अजयराज सुमार्गीले ‘नेपालका सबै पार्टी र नेताहरु मेरा खल्तीका हुन्, तिमीहरुलाई म जे चाह्यो त्यो गर्न सक्छु’ भन्दै २०६९ देखि जबर्जस्ती हस्ताक्षर गर्न लगाएर कर्मचारीहरुलाई निष्काशन गरे जुन क्रम अहिलेसम्म पनि जारी छ,’ अपिलमा भनिएको छ, ‘प्राविधिक क्षेत्रमा सिकेको सीपलाई हामी सबै कर्मचारीहरुले दिलोज्यानका लागि लगानी गर्दै आएका थियौं ।

तर पेशागत सुरक्षाको माग राख्दा सुमार्गी मालिक रहेको उक्त कम्पनीले यसरी अन्यायपूर्वक निष्काशन गरेकाले तपाईहरुको सञ्चारमाध्यममार्फत हाम्रा पीडाहरु प्रकाशन प्रसारण गरी न्याय प्राप्तिका लागि वातावरण बनाइ सहयोग गरिदिनु हुन अपिल गर्दछौं ।’ ३४ जना कर्मचारीहरुको हस्ताक्षरित उक्त अपिलमा न्युनतम २ वर्षदेखि ५ वर्षसम्म कार्यरत कर्मचारीहरुलाई जबर्जस्ती धम्कीको भाषा प्रयोग गरी श्रम ऐन विपरित हामी ५० जनालाई उक्त कम्पनीले निष्काशन गरेकाले आफूहरु न्यायका लागि छटपटाइरहेको बताइएको छ ।
न्युनतम २ वर्षदेखि ५ वर्षसम्म उक्त कम्पनीको प्राविधिक तथा अप्राविधिक क्षेत्रमा काम गरिसकेका कर्मचारीहरुलाई २ सय ४० दिन काम गरिसकेकाले स्थायी गर्नुपर्छ भनेर माग राखेकै कारण निष्काशन गरेको उनीहरुको दावी छ । शुरुमा राजनीतिक दल सम्वद्ध नरहेको स्वतन्त्र टे«ड यूनियनका नाममा व्यवस्थापनसमक्ष माग राख्दा त्यसैको प्रतिशोध साँधेर आफूहरुलाई बन्द कोठामा थुनेर स्वघोषित स्वैच्छिक अवकाशको पत्रमा व्यहोरा पढ्नै नदिई मिति उल्लेख नगरिएको कागजमा जवर्जस्ती हस्ताक्षर गराइएको पीडित कर्मचारीहरुले बताए ।
उक्त कम्पनी सन् २०११ मै बहुराष्ट्रिय कम्पनी टेलिया सोनेरालाई बिक्रि गरिसकेको र बिदेशी कम्पनीको स्वार्थ पुरा गरिदिन सन् २०१२ बाटै कर्मचारीलाई जबर्जस्त निष्काशन गरेको र सो क्रम अहिले पनि चलिरहेको उनीहरुको भनाई छ । निष्काशित मध्ये आन्दोलन गर्न तयार भएका प्राविधिक तथा अप्राविधिहरुमा सोमन्तराज भट्टराई, विश्वासजंग राना, केयुर न्यौपाने, सन्तोष महासेठ, मनोज माझी, विक्रम सुवेदी, प्रविण सापकोटा, उज्वल सुवेदी, विपिन पोख्रेल, मनोज पौडेल, दिपक थापा, शुभ श्रेष्ठ, पुष्प सुनुवार, केशव आगांजा, अरुण पाण्डे, जनक सुवेदी, रामबहादुर भुषाल, सागर उप्रेती, संजीव पौडेल, मोहनराज अवस्थी, नविन जिसी, रेखा पौडेल, निशा तिमिल्सिना, विष्णु खनाल, मदन लामिछाने, अजिता जोशी, राजिव रावत, सागर खनाल, बबिन प्रधान, प्रमिला ढुंगेल लगायत छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।