यस बर्षको सीएनएन हिरो नेपालकी नेपालकी समाजसेवी पुष्पा बस्नेत भएकी छन् । नेपाली  पुष्पा बस्नेतले ९ प्रतिस्पर्धीलाई उछिन्दै सिएनएन हिरो २०१२ को उपाधी जित्न सफल भएकी हुन् ।

अपराधमा सजाय पाएका आमासँगै जेलमा बस्ने बालबालिकाको शिक्षादीक्षा र पालनपोषणमा आफ्नो जीवन समर्पण गर्ने युवती हुन् पुष्पा । ‘बालबालिकाहरू बाआमासँगै जेलमा परेको देखेर पुष्पा स्तब्ध भइन्, २१ वर्षकै उमेरमा उनले तिनका लागि ‘अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर’ खोलिन । सन् २००५ देखि उनले जेलमा परेका बाआमाका १ सय ४० भन्दा बढी बच्चालाई शिक्षा, आवास र स्वास्थ्य सेवा उपलब्ध गराएकी छन् ।’
सीएनएनले भनेजस्तै भर्खर २८ वर्ष पुगेकी पुष्पा ७ वर्षदेखि परिवारै छाडेर बालबालिकाको स्याहारसुसारमा दत्तचित्त छिन् । बच्चाहरूको सम्पर्कमा आउनुअघि सम्पन्न परिवारकी कान्छी छोरी पुष्पा सेन्ट जेभियर्समा ‘सामाजिक सेवा’ पढ्थिन् । ‘प्रोजेक्ट वर्क’ को सिलसिलामा केन्द्रीय कारागारको महिला बन्दीगृह जाँदा आमासँगै जेलमा बस्न बाध्य बालबालिका उनले देखिन् । एउटा बालिकाले पुष्पाको लुगा समातेर उनीसितै जाउँला जसरी हेरिन् । ‘त्यो दिन मलाई सबैभन्दा नमज्जा लाग्यो,’ पुष्पा भन्छिन्, ‘रातभरि जेलमा परेका ती सानी केटीलाई सम्झिरहें ।’ पुष्पा निकै दिनसम्म घोत्लिएर बसिन् । अन्ततः तिनै बालबालिकाका लागि ‘केही गर्ने’ निर्णयमा पुगिन् । उनी र्फकेर जेलमै पुगिन् । आमासँगचाहिँ बच्ची मागिन् । सिन्धुपाल्चोककी सञ्चु तामाङकी आठ महिनाकी छोरी थिइन् ती । बडो ढिँपी गरेर पुष्पाले सञ्चुलाई मनाइन् । तर जेलरले रोके ।
बच्चीलाई जेलभित्र कुनै सहयोग गर्न नमिल्ने, जेल बाहिर लैजान दर्ता भएको सामाजिक संस्था चाहिने अत्तो उनले थापिदिए । सारा काम छाडेर संस्था दर्ता गर्नतिर लागिन् उनी । साथीहरूलाई जम्मा गरिन् । आफन्तलाई फकाइन् । ९ जना जसोतसो जम्मा गरेर दर्ता गरिन्, अर्ली चाइल्डहुड डेपलपमेन्ट सेन्टर ।’
आफ्नो गहना बेचेर, आमासँग पैसा मागेर र साथीभाइसँग सापट गरेर पुष्पाले ७० हजार जम्मा गरिन् । त्यही पैसाले सुन्धाराको एउटा घरमा सानो पाठशालाजस्तो बालकेन्द्र खोलिन् । सुरुमा जेलभित्रका चार बच्चा बिहानै उनी त्यहाँ ल्याउँथिन् । तिनको स्याहारसुसार गरिदिन्थिन् । खेलाउँथिन् । पढाउँथिन् । अनि बेलुका जेलमै फर्काउँथिन् । ६० बच्चाहरू आमा जेलबाट छुटेपछि घर गए । अहिले पुष्पाका साथमा ४४ बच्चाहरू छन् । ती सबै अहिले चपली गाउँको एउटा घरमा बस्छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।