विश्व साइकल भ्रमणमा निस्केका यात्री सौरभ दाहाल शुक्रबार बेलुका पेरिसको गर्देनोल भन्ने ठाउँमा लुटिएका छन् ।

पेरिसको यात्रा सकेर बेल्जियमको यात्रामा निस्केका सौरभको महत्वपूर्ण कागजपत्र तथा सामान भएको ट्राभल ब्याग चोरहरु आएर तानेर लगेको हो । अगाडिको यात्राको लागि ट्राभल डकुमेन्ट मिलाउँदै गर्दा आफ्नो ब्यागको महत्वपूर्ण डकुमेन्ट सहित नगद ८०० यूरो, क्यामेरा साथै ल्यापटप चोरहरुले लुटेको सौरभले बताएका छन् ।

भ्रमणको लागि जुन डकुमेन्ट देखाएर भिसा दिइन्थ्यो, त्यो नै नभएपछि सौरभ विचल्लिमा परेका छन् । सन् २००७ बाट साइकल यात्रा गरेर पाएको सम्पूर्ण कागजपत्र र साइकल यात्री हो भन्ने प्रमाणित भएको अफिसियल पेपर पनि उक्त झोलामा रहेको थियो । अब भ्रमणको लागि अर्को पेपर बनाउन पनि नसक्ने र नेपाल फर्किनको लागि टिकट काट्ने पैसा पनि नभएपछि सौरभले सहयोगको अपिल गरेका छन् ।

आफू लुटिएको कुरा फ्रान्स पुलिसलाई पनि खबर गरेको सौरभले बताएका छन् । साथै नेपाल परराष्ट्र मन्त्रालयले पुन अर्को डकुमेन्ट दिए फेरि भ्रमणमा निस्कने वातावरण बन्ने सौरभको भनाई छ । यस अघि पनि उनको जर्मनमा साइकल चोरी भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।