कात्तिक १९ – ठाउँ ठाउँमा रातको समय बाटो हिड्नेलाई समेत मापसे चेक गन थालिएको तथा मापसे सेवन गरेर सवारी चलाउनेलाई धमाधम कारबाही गरिरहेको अवस्थामा एक मन्त्रीले भने मदिराजन्य होर्डिङ बोर्ड राख्नमा अवरोध नपुर्‍याउन निर्देशन दिएका छन् ।

यसरी निर्देशन दिने मन्त्री भने एकीकृत नेकपा माओवादीका उपाध्यक्ष तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठ रहेका छन् ।

उनले ठाडो निर्देशनमा काठमाडौं महानगरपालिकाले मदिराजन्य होर्डिङ बोर्ड राख्न दिनुपरेको नगरपालिकाका कर्मचारीले खुलाएपछि उक्त घटनाको रहस्योदघाटन भएको हो ।

मन्त्री श्रेष्ठले महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीलाई नयाँ तथा पुराना मदिराजन्य होर्डिङ बोर्ड राख्नमा अवरोध नपुर्‍याउन निर्देशन दिएको समाचारहरुमा जनाइएको छ ।

मन्त्रीको निर्देशनपछि महानगर मदिराजन्य होर्डिङ बोर्ड राख्न नदिने निर्णय परिवर्तन गर्न परेको छ ।

यसअघि नगरपरिषद्को लगातार तीनवटा बैठकले नगरक्षेत्रभित्र मदिराजन्य होर्डिङ बोर्ड राख्न नदिने निर्णय गरेको थियो । तर, मन्त्री श्रेष्ठले महानगरका कार्यकारी अधिकारीलाई करिब डेढ महिनाअघि आफ्नै कार्यकक्षमा बोलाएर होर्डिङ राख्न दिन भनेर दबाब र निर्देशन दिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।