असोज २८ – विपक्षीहरुले प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजीनामाको विषयलाई चर्को रुपमा उठाईरहेका बेला प्रधानमन्त्री भट्टराईले भने आफूले सहजै राजीनामा नदिने दोहोर्याएका छन् ।

महोत्तरीको फूलकाहा—६ मा पर्ने मनरबा गाउँको दलितबस्तीमा रात्रिवास बसेका प्रधानमन्त्री भट्टराईले आज बिहान सो बस्तीका मुसहर जातिका दलितसँग बिदा हुने क्रममा शोषितपीडित र सदियौँदेखि अवसरबाट वञ्चित जनताको हकअधिकार संविधानमा उल्लेख हुने प्रत्याभूति भएपछि मात्र आफूले पद छाड्न सक्ने घोषणा गरे ।

प्रधानमन्त्रीले दलहरूले गर्ने सहमति लागु गर्न आफू प्रतिबद्घ रहेको बताउँदै विरोधका कुरा छाडेर दलहरू सहमतिमा आउनुपर्ने समेत उल्लेख गरे ।

दलहरूले लोकतान्त्रिक संविधान जारी गर्न सहमति गरे आफूले तत्कालै पद छाडिदिने भट्टराईको भनाइ थियो ।

एकातिर, प्रधानमन्त्रीले यसो भनिरहँदा अर्कातर्फ राष्ट्रपति भने दलहरुले सहमति नगरेको प्रति आक्रोशित बन्दै गएका छन् । हिजो मात्रै राष्ट्रपतिले दलहरुप्रति केन्द्रित हुँदै आफूले संविधानको पालना गर्न धुप बालेर बसौँ कि पुजा गरेर बसौँ भन्दै तिक्तता व्यक्त गरेका थिए ।

राजनीति बहसहरु जे जस्ता हुने गरेपनि दलहरु सहमतिमा पुग्न नसक्दा देश भने झन् झन् समस्यातर्फ लम्किरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।