असोज २७ – नेकपा एमालेले पार्टी परित्याग गरी नयाँ पार्टी गठन गर्ने घोषणा गरेका पार्टी उपाध्यक्षसहित नौ जना नेतालाई आज हटाएको छ ।

पार्टी स्थायी समितिको आज बसेको बैठकले पार्टी परित्याग गरी नयाँ पार्टी गठन गर्ने घोषणा गरेका पार्टी उपाध्यक्ष अशोक राई, विजय सुब्बालगायतका नौ जना जनजाति र मधेसी नेताहरुको साधारण सदस्यता खारेज गरेको हो ।

तर यसअघि पार्टीसँग असन्तुष्ट भए पनि पार्टी परित्यागमा संलग्न नभएका पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ लगायतका नेताहरुलाई पार्टीभित्र आफ्नो मत राख्न दिने र उनीहरुले सम्हालेकै जिम्मेवारीलाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ ।

एमालेले संविधानसभा पुनःस्थापना सम्भव नभएको निष्कर्ष निकाल्दै पुनःस्थापनको गतिविधिमा नलाग्न पार्टी पङ्क्तिलाई निर्देशन समेत जारी गरेको छ ।

पार्टी कार्यालय बल्खुमा आज बसेको एमाले बैठकले नयाँ जनादेशमा जाने यसअघिको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्ने तथा पुनःस्थापनाको पक्षमा कुनै गतिविधि नगर्न पार्टी पङ्क्तिलाई निर्देशन दिने निर्णय गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।