असोज २३ – विकट उत्तरी धादिङको तिप्लिङ गाविस–८ स्थित एक घरमा लुटेरा समूहले लुटपाटपछि एक जनाको हत्या गरेको छ ।

पचास वर्षीय धनबहादुर घलेको घरमा लुटपाटपछि हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान राति लुटपाट गर्न आएको समूहले घरमा रहेको दुई तोला सुन लुटपाट गरेपछि घले दम्पतीमाथि आक्रमण गरेको थियो ।

आक्रमणका कारण धनबहादुरको घटनास्थलमै मृत्यु भयो भने उनकी श्रीमती ४८ वर्षीया मरबते बेहोस भएको अवस्थामा छिमेकीले फेला पारेको स्थानीयवासी प्रेम तामाङले बताए ।

घटनास्थलभन्दा टाढा प्रहरी कार्यालय भएकाले उद्धारका लागि प्रहरी सो स्थानमा पुग्न समय लाग्ने र स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराउन समेत स्वास्थ्यकर्मी नभएकाले गाउँमै उपचार गराउने अवस्था छैन । घाइतेको उद्धार गरी सदरमुकाम ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।