असोज ९ – अमेरिकी राष्ट्रपति बाराक ओबामा र उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच सोमबार राति न्युयोर्कमा भेटवार्ता भएको छ ।

राष्ट्रपति ओबामाले संयुक्त राष्ट्रसङ्घको ६७ औं महासभामा भाग लिन न्युयोर्क पुग्नुभएका विश्वका विभिन्न मुलुकका सरकार प्रमुख एवम् प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा उनीरूबीच सङ्क्षिप्त भेटवार्ता भएको हो ।

भेटमा उपप्रधानमन्त्रीले नेपालको जारी शान्ति प्रक्रिया, संविधान लेखनमा भएको प्रगति तथा संविधानसभा विघटनपछि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति कायम गर्न भएका प्रयासबारे जानकारी गराएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

यसैगरी, परराष्ट्रमन्त्री श्रेष्ठले सोमबार कोरिया र बहराइनका विदेशमन्त्रीहरूसँग पनि बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता गरे ।

गणतन्त्र कोरियाका विदेश तथा व्यापारमन्त्री किनसुङ ह्वाङसँगको वार्तामा मन्त्री श्रेष्ठले पर्यटन तथा जलविद्युत्को क्षेत्रमा लगानी गर्न कोरियालाई आग्रह गरेको जनाइएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।