असोज १ – एकीकृत नेकपा माओवादीका कार्यकर्ताले अर्थसचिव कृष्णहरि बाँस्कोटामाथि वैद्य पक्षलाई कर्मचारी दिवस मनाउन पैसा दिएको भन्दै दुर्व्यवहार गरेका छन् ।
कर्मचारी सरुवाको विषयमा यसअघि पनि दबाब दिँदै आएको संस्थापन पक्ष सम्बद्ध कर्मचारी युनियन राष्ट्रिय कर्मचारी संगठन (राकस)ले कार्यालयभित्रै पसेर ढोकामा चुकुल लगाएर अर्थसचिवमाथि दुर्व्यवहार गरेको हो ।
राकसका अध्यक्ष याम पोखरेलको नेृतवमा १०/१२ को संख्यामा सचिवको कार्यालय भित्र पसेपछि उनीहरुले वैद्य पक्षधर माओवादी युनियनलाई निजामती कर्मचारी दिवस मनाउन किन पैसा दिइएको भनेर झम्टिएका थिए । सो क्रममा उनीहरुले अर्थसचिव माथि मुख छाड्दै टिटेबलमा मुड्की बजोरर लाती समेत हानेको त्यहाँ प्रत्यक्षदर्शी कर्मचारीहरुले बताएका छन् ।
होहल्लाका साथ सचिवको कार्यालयभित्र एमाओवादी कर्मचारी कार्यकर्ता प्रवेश गरेर मुल ढोकामा चुकुल लगाएपछि त्यहाँ हातपात हुने सम्भावना देखेर केही अन्य कर्मचारी भने पछाडी पट्टिको ढोकाबाट छिरेर त्यहाँ पुगेका थिए ।
निजामती सेवा दिवस मनाउने नाममा प्रत्येक वर्ष अर्थले कर्मचारी युनियनहरूलाई १र१ लाख रुपैयाँ वितरण गर्ने गरेको छ । यसपटक अर्थले वैद्य पक्षधरका साथै कांग्रेससम्बद्ध निजामती कर्मचारी युनियनबाट फुटेको समूहलाई पनि पैसा दिएको थियो ।
सोही विषयलाई लिएर एमाओवादी पक्षधर भने अर्थसचिव माथि खनिएका हुन् ।
वैद्य पक्षधरलाई पैसा दिएको भनेर विवाद सुरु गरेका तिनले आफ्नो लिस्टअनुसार कर्मचारी सरुवा गर्न पनि भनेका छन् । महालेखा नियन्त्रक कार्यालयका कर्मचारीको सरुवा गर्नुपर्ने सत्तारुढ माओवादी कर्मचारीहरुको माग छ ।