असोज १ – राजनीतिक संक्रमणले दिक्क भएका सर्वसाधरण न्यायलय तथा सुरक्षा निकायबाटै पनि पीडित माथि पनि पीडित बन्न थालेका छन् ।

जसको शक्ति उसैको भक्ति भने झैँ पाँचथरमा नेपाली सेनाबाट बलात्कृत हुन पुगेकी एक महिला न्याय माग्न जाँदा दोषीलाई कारबाही भन्दा पनि शक्ति भक्तिकै राज हेरेर दिक्क हुन पुगिन् ।

एक सैनिकबाट बलात्कृत भएपछि न्याय माग्दै पुगेकी उनलाई सेनाको बेसक्याम्पले १५ हजार दिएर घर पठाएको हो ।

पाँचथर फाक्तेप गाविस–५, जौबारी निवासी अस्मिता चेम्जोङ गत शुक्रबार सेनाका एक जवानबाट जबरजस्ती बलात्कृत भएपछि उनी न्यायको खोजीमा भौतारिएकी छन् ।

बजारबाट सब्जी लिएर जाँदै गर्दा उनलाई सैनिकको बर्दी लगाएका एक व्यक्तिले जबरजस्ती बोलेमा गोली हान्छु भन्दै बलात्कार गरेका थिए ।

पीडित चेम्जोङका अनुसार अरु सैनिकहरु अलिक टाढै भएको अवस्थामा एक सैनिकले आएर नाम थर श्रीमान सबै सोधेपछि जिउ सुम्सुमाउँदै बलात्कार गरेका थिए । प्रतिकार गर्न खोज्दा आफूहरुको नियम नै यस्तै भएको र कराएमा गोली हान्ने धम्की दिएको उनको भनाई छ ।

विष्णु दल गणअन्तर्गत रविबजारमा रहेको नेपाली सेनाको बेसक्याम्पबाट आएको गस्ती टोलीका एक सैनिकले बलात्कार गरेको खुलासा भएको छ । दोषी सैनिकको नाम र ओहोदा भने सेनाले पनि खुलाएको छैन ।

आफू बलात्कृत भएपछि तत्काल नै उनले प्रहरीमा खबर गरेपनि सैनिकको कुरो भएको भन्दै आनाकानी गरेको बताइएको छ । पीडित महिलाका तीन छोरी र एक छोरा छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।