भदौ २९ रासस – भारतको गुजरातमा दुई महिनासम्म बन्धक बनाएर राखिएकी नवलपरासीकी एक बालिकालाई उद्धार गरिएको छ । नवलपरासीको सनई गाविस–९ पडरीकी १४ वर्षीया बालिका ललिता यादवको उद्धार गरिएको हो ।

गत असार २५ गते साँझ साढे ७ बजे मोटरसाइकलमा आएका दुईजनाले बालिकालाई घरबाटै मुख बाँधेर लगेका थिए । पीडित बालिकाको पारिवारिक स्रोतका अनुसार हकुई–५ हकुईका जोगिन्दर यादव र रुपन्देहीको बोदवार–७ का विनोद यादवले बालिकालाई उनको घरबाट अपहरण गरेर लगेका थिए ।


गोप्य जानकारीका आधारमा पीडित बालिकाका बुबा नाथुप्रसाद गुप्ताले आफैँ भारतको गुजरात पुगेर त्यहाँको प्रहरीको सहयोगमा बालिकाको उद्धार गरी घर ल्याएका हुन् ।

बालिका अपहरणमा संलग्न नवलपरासीको हकुई घर भएका जोगिन्द्र यादव, हकुईकै रामचन्द्र यादव, रुपन्देहीको बोदवार घर भएका विनोद यादव, भारत घर भएका रामचन्द्र यादव र बालगोविन्द यादव फरार भएका छन् । उनीहरू पाँचैजनाविरुद्ध अपहरण मुद्दा चलाउने तयारी भइरहेको नाथुप्रसादले बताए ।

यसैबीच, भारत लैजाँदै गरेको अवस्थामा स्थानीयवासीले नवलपरासीको मुकुन्दपुरबाट एक युवतीलाई उद्धार गरेका छन् । उनीहरूले घटनामा संलग्न व्यक्तिलाई इलाका प्रहरी कार्यालय गैडाकोटमा बुझाएका छन् ।

मुकुन्दपुरकी राधिका धितालसहित तीनजना मिलेर स्थानीय १७ वर्षीया युवतीलाई मोबाइलसमेत किनिदिएर भारत बेच्न लगेको भन्दै तीन संस्थाका प्रतिनिधिले युवतीको उद्धार गरेका हुन् ।

महिला स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था, पारालिगल गाउँ कमिटी र सामुदायिक सेवा केन्द्रले शङ्का लागेर सोधपुछ गर्दा भारत लैजान लागेको पुष्टि भएपछि प्रहरीको जिम्मा लगाइएको जानकारी दिइएको छ ।

भारत बेच्न नभएर आफन्तको होटेलमा काम गर्न लैजान लागिएको अभियुक्त धितालले बताएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।