भदौ २३ (रासस) – पर्सा जिल्लाको ठोरी नाकाबाट भारतका विभिन्न वेश्यालयमा बेच्न लैजान लागिएको आशङ्कामा शुक्रबार साँझ तीनजना किशोरीसहित दुईजना दलाललाई स्थानीय बासिन्दाले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।
वैदेशिक रोजगारीका नाममा दलालले पोखराबाट चितवनको माडी, ठोरी हँुदै भारतको दिल्लीतर्फ लैजान लागेको अवस्थामा शङ्कास्पद गतिविधि देखिएपछि स्थानीय बासिन्दाले उनीहरुलाई प्रहरीसमक्ष बुझाएका हुन् ।
पोखरा उपमहानगरपालिका–१ का हीराबहादुर सार्की र चितवनका मङ्गलबहादुर परियारले कास्की जिल्ला लेखनाथ नगरपालिका–१३ निवासी २४ वर्षीया शर्मिला सुनुवार, २१ वर्षीया विष्णु सुनुवार र १८ वर्षीया मुना विकलाई दिल्ली हुँदै रोजगारीका लागि कुवेत पठाउन लागेको बताएपछि स्थानीय बासिन्दा तथा महिला परालिगल कमिटी ठोरीले निजहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ठोरीको जिम्मा लगाएका हुन् ।
प्रहरी नियन्त्रणमा रहेका युवतीलाई माइती नेपालमार्फत अभिभावकको जिम्मा लगाइने तयारी भइरहेको तथा दलाललाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइने इलाका प्रहरी कार्यालयले जनाएको छ ।