भदौ १९ – वर्ल्ड क्रिकेट लिग डिभिजन ३ मा उक्लने लक्ष्यका साथ अघि बढेको नेपालले आज तान्जानियालाई ८ विकेटले पाखा लगाउँदै दोस्रो जित हात पारेको छ ।

मलेसियामा भइरहेको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ४ अन्तर्गत आफ्नो दोस्रो खेलमा आज तान्जानियाले दिएको ८३ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १९ ओभर ४ बलमा पूरा गरेको हो ।

नेपालको जितका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक नटआउट २८ रन जोडे । सुवाष खकुरेलले २० रन बनाए । पारसले १० बलमा दुई चौका र एक छक्काको मदतले १५ रन जोडे भने अनिल मन्डलले ९ रन बनाएका थिए ।

तान्जिनियालाई सस्तैमा समेट्न नेपालका कप्तान पारस खड्काले ४ विकेट लिएका थिए भने बसन्त रेग्मीले ३, विनोद दासले २ तथा शक्ति गौचनले १ विकेट लिए ।

राउन्ड रोबिन लिगका आधारमा खेलिने डिभिजन फोर प्रतियोगितामा नेपालसँगै सिंगापुर, मलेसिया, अमेरिका, डेनमार्क र तान्जनिया सहभागी छन् । प्रतियोगिताको शीर्ष २ स्थानमा रहने टोली डिभिजन थ्रीमा उक्लनेछन् भने पुछारका २ टोली डिभिजन फाइभमा झर्नेछन् ।

नेपालले अब भदौ २१ गते मलेसियासँग, २२ गते अमेरिकासँग र २४ गते डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।