साउन ३ – ६२ औं मिस वर्ल्डमा विश्वभरका १ सय १५ प्रतिस्पर्धीलाई पछि पार्दै चीनकी वेन सि युले मिस वर्ल्ड– २०१२ को ताज पहिरिन सफल भएकी छन् ।

चीनको ओर्डोसमा भएको सुन्दरी प्रतियोगितामा आयोजक राष्ट्रकै उनले यो पटकको ताज आफ्नै पोल्टामा पार्न सफल भएकी हुन् ।

मिस वर्ल्ड–२०१२ बिजेता वेन संगीतकी विद्यार्थी हुन् । उनको इच्छा भनेको संगीत शिक्षिका बन्ने रहेको थियो ।

यस्तै, प्रतियोगिता अन्तर्गत वेल्स सुन्दरी सोफी मौल्ड्स फस्ट रनर अप घोषित भइन भने अष्ट्रेलियाली सुन्दरी जेसिका काहावाते सेकेन्ड रनर अपमा समेटिएकी छन् ।

उत्कृष्ट सातमा उनीहरुका साथै जमैका, भारत, दक्षिणी सुडान र ब्राजिका सुन्दरी परे तर नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल सृष्टि श्रेष्ठले भने कुनै पनि उपाधि पाउन सकिनन् ।

सृष्टि बीच ब्यूटीको शीर्ष १० मा समेत पर्न सफल भए पनि उपाधि भने जितिनन् । कुनै समय शीर्ष १४ मा रहेकी सृष्टि त्यसपछि भने राम्रो प्रदर्शन नहुँदा शीर्ष १५ बाट बाहिरिएकी थिइन् । समग्रमा उनी २१ औँ स्थानमा रहिन ।

सन् १९९४ देखि नेपालले पनि सहभागीता जनाइरहेकामा चीनमा रहेकी सृष्टि सबैभन्दा सफल सहभागी मानिन्छिन् । यसअघि कुनै पनि नेपालीले शीर्ष ३० भित्र पर्न सकेका थिएनन् ।

 –    मिस वर्ल्ड ट्यालेन्ट अवार्ड- चीन
–    मिस वर्ल्ड स्पार्ट्स अवार्ड- स्विडेन
–    मल्टिमिडिया अवार्ड-भारत
–    बिच फेसन अवार्ड- वेल्स
–    टप मोडल अवार्ड- दक्षिण सुडान

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।