१ भदौ । विरोधका पनि थरी थरीका रुप हुन्छन् । आफ्ना माग पूरा गराउन कोही सडक बन्द गरेर विरोध गर्छन त कोही अनसन बसेर । यस्तै धादिङमा भने गाईभैंसीको दुध पोखी सडकमा रोपाई गरेर विरोध जनाइएको छ ।

मोटर सञ्चालनमा रोक लगाइएपछि धादिङको मुरलीभन्ज्याङ गाविस–७ निगालपानीका स्थानीय बासिन्दाले विरोधस्वरुप सडकमा दूध पोखेर रोपाइँ गरेका हुन् ।

वर्षाको समयमा सवारी चलाउँदा सडक जीर्ण बन्ने भन्दै धादिङको उत्तरी क्षेत्र र गोरखा जिल्ला जोड्ने धादिङबेंसी–सल्यानटार सडकमा मोटर सञ्चालनमा रोक लगाइएपछि गाउँमा उत्पादित दूध र कृषि उपज बजारमा ल्याउन नपाइएको भन्दै किसानले सडकमा नै रोपाइँ गरी विरोध गरेका हुन् ।
गाउँमा उत्पादित दूध सडकमा पोखिएपछि सोही सडकमा गोरु नारेर हिलो बनाई रोपाइँ गरिएको थियो । सडक बन्द हुँदा वर्षामा उत्पादित फलफूल, दूध, कुखुरालगायतका सामग्री ल्याउन लान समस्या परेको कृषकले बताएका छन् ।

जिविस धादिङले वर्षाको समयमा जिल्लाका सबै ग्रामीण सडकमा यातायात बन्द गराउने निर्णय गरेको थियो । उक्त ग्रामिण सडक बन्द भएपछि गाउँमा उत्पादित दूध, तरकारी कुखरालगायतका कृषिजन्य वस्तु बजार ल्याउन कठिन हुँदै आएको छ ।

विसं २०४३ सालदेखि निर्माण सुरु गरिएको उक्त ग्रामीण सडक हरेक वर्ष वर्षायाममा बन्द गरिँदै आएको छ ।

बाटो बनाउनकै लागि भनेर जिविस धादिङले सडक बन्द गराउँदै आएको भए पनि अहिले बाटाको अवस्था पैदल हिँड्न पनि नसक्ने गरी बिग्रिएको स्थानीयवासी दीपक विकको भनाइ छ ।

किसानले ग्रामीण सडक तत्काल सञ्चालनमा नल्याई किसानको मागलाई बेवास्ता गरिए जिविस प्राङ्गणमा दूध ल्याएर पोख्ने चेतावनी उनीहरुले दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।