साउन ३२ – सिरहा जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेकाहरूबाट नै त्यहाँको दुई होटलमा बम विस्फोट गराउने गरेको रहस्य खुलेको छ ।

बम विस्फोटका घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो खुलासा भएको हो ।

लहानस्थित होटल गोधुली र सिरहा सदरमुकामस्थित खड्गा होटलमा बम विस्फोट गराउने तीनजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरू मोर्चाकै कार्यकर्ता रहे पनि प्रहरीले तत्कालका लागि उनीहरूको नाम ठेगाना सार्वजनिक गरेको छैन । उनीहरुको म्याद थप गरिएपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताइएको छ ।

जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका अखिल तराई मुक्ति मोर्चा गोइत समूहका राजनीतिक ब्युरो प्रमुख अमिताभ भनिने उदय यादवद्वारा आफूहरू सञ्चालित रहेको पक्राउ परेकाहरूले बयान दिएका छन् ।

खड्गा होटलमा यही साउन २५ गते साँझ एउटा बम विस्फोट भएको थियो भने अर्को बम नेपाली सेनाले निष्क्रिय पारेको थियो ।

यस्तै एक महिनाअगाडि लहानस्थित होटल गोधुलीमा पनि बम विस्फोट भएको थियो भने अर्को बम सेनाले निष्क्रिय पारेको थियो । दुवै होटलमा भएको बम विस्फोटको जिम्मा अखिल तराई मुक्ति मोर्चाका केन्द्रीय सैन्य कमान्डर विप्लवले लिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।