परासी २ भदौ
भारतले बनाएको बाँधका कारण डुबानले पीडित सुस्ताबासी आफैं सक्रिय भएर बाँध भत्काउन लागि परेका छन् ।
गण्डक नहरमा भारतले बनाएको एकतर्फी बाँधले डु्बान भएपछि बाँध भत्काउन पुगेका सुस्ताबासीलाइ प्रशासनले रोकेपछि उद्देश्य पूरा गर्न भने पाएनन् ।
भारतले बनाएको बाँध भत्काएर पानीको निकास दिने भन्दै सुस्ताबासी २ सय संख्यामा उपस्थित भएर नहरको बाँध भत्काउन पुगेका थिए । तर, स्थानीय प्रशासनले भारतीय पक्षसँग कुरा गर्ने भन्दै रोकेपछि उनीहरुको उद्देश्य पूरा हुन नसकेको हो ।
सुस्ताबासीले करिब १० मिटर लामो र कुलो समेत खनि सकेका थिए । त्यसपछि बाँध भत्काउन भने प्रशासनले राेकेकाे थियाे ।
गण्डक जलविद्युत आयोजनाका लागि पानी ल्याउन नहर बनाइएको छ । उक्त स्थानमा विद्युत उत्पादनपछि भारतले पानीलाई सिंचाईका लागि बाँध बाधेर लगेको छ । सुस्ताबासीले भने बाँधकै कारण डुबान भएको बताउँदै आएका छन् ।
हालै अविरल वर्षापछि आएको बाढीका कारण नवलपरासीको सुस्ता १ र २ डुवानमा परेको थियो ।
बिहीबार स्थानीयले नहरको बाँध नै भत्काउन खोजेपछि बसेको नेपाल र भारतका अधिकारीहरुको बैठकमा दुवै पक्ष तीन दिनभित्र समस्या समाधान गर्न तयार भएको बताइएको छ । बैठकहरुमा भारतीय पक्षले सहमति जनाएपनि कार्यान्वयन पक्ष भने कमै मात्र हुने गरेको छ ।
Comments