काठमाडौं २ भदौ
सत्तारुढ तथा विपक्षी प्रमुख तीन ठूला दल निर्वाचन आयोगले प्रदेश र संघीय सभाको चुनाव मंसिर ४ गते एकै चोटी निर्वाचन गर्ने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ बसेको सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी तथा प्रमुख प्रतिपक्षी नेकपा एमाले र निर्वाचन आयोगको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
निर्वाचनमा २ वटा मतपत्र प्रयोग हुने भएको छ। एउटा मतपत्रमा प्रदेशसभा र संघीय संसदका लागि प्रत्यक्षतर्फ पहिलो हुने निर्वाचित हुनेमा मतदान हुनेछ भने अर्को मतपत्रमा समानुपातिकतर्फ प्रदेशसभा र संघिय संसदका लागि मतदान गर्नुपर्ने व्यवस्था हुने प्रस्ताव गरिएको छ ।
मंसिरमा दुवैसभाको चुनाव गर्न आयोगले भदौ ५ सम्म निर्वाचन ऐन संशोधन गरिसक्नुपर्ने माग गरेको छ । त्यस्तै भदौ १५ गतेसम्म निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने पनि आयोगको माग छ।
बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरुले मंसिर ४ गते प्रदेशसभा र संघीय संसदको निर्वाचन गर्ने मिति पनि प्रस्ताव गरेका थिए। यस्तै आयोगले प्रदेशसभा र संघीय संसदको निर्वाचन पनि २ चरणमा गर्न प्रस्ताव गरेको छ। पहिलो चरणमा हिमाली भेगसहित उच्च पहाडी ३१ जिल्लामा मंसिर ४ गते र बाँकिमा १० देखि १५ गतेको बीचमा गर्न प्रस्ताव गरेको हो।
निर्वाचन एकै चरणमा सबै ठाउँमा गर्ने कि दुई चरणमा गर्ने भन्ने अन्यौल निर्णय हुन भने बाँकी छ । निर्वाचन मिति घोषणा पूर्व यस विषयले निचोड पाउनेछ । निर्वाचन मिति भोलि वा पर्सी घोषणा गर्ने सरकारको तयारी छ ।
Comments