साउन २५ – केही समय अगाडी शक्तिशाली राजनीतिक पार्टीको उदय हुँदै भनेर प्रचार गरिएपनि जनजाति अगुवाहरुबीच नै नयाँ पार्टी खोल्ने विषयमा विवाद चुलिएर तत्कालका लागि प्रस्तावित जनजातिहरुको पार्टी मात्रै घोषणा गरिएको छ ।
तत्काललाई प्रस्तावितका रुपमा घोषणा गरिएको पार्टीको नाम भने सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी(सोसियल डेमोक्रेटिक प्लुरी-नेसनल पार्टी)राखिएको छ ।
यद्यपी, पार्टी घोषणा कार्यक्रममा जनजाति नेताहरुले नयाँ प्रस्तावित पार्टीलाई नयाँ शक्तिको उदय भएको बताएका छन् ।
उनीहरुले राजधानीको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा पत्रकार सम्मेलन गरेर प्रस्तावित पार्टीको घोषणा गरेका थिए ।
उक्त पार्टीको प्रस्तावित संयोजकमा भने डा. चैतन्य सुब्बा चुनिएका छन् । सुब्बाले प्रस्तावित पार्टी बहुल–राष्ट्रियवाद, सामाजिक लोकतन्त्र र आदिवासीवादको विचार तथा सिद्धान्तबाट निर्देशित हुने बताए ।
बुधबार रातिसम्म बैठक बसी बनिसकेको पार्टीको घोषणापत्र तथा नाम सार्वजनिक गर्नका निम्ति सञ्चारमाध्यममा निम्तोसमेत गरिएकोमा सार्वजनिकीकरण घोषणा ब्यानरको माथिल्लो भागमा प्रस्तावित शब्द टाँसेर पत्रकार सम्मेलन गरिएको थियो ।
आदिवासी जनजाति नेताहरु, सामाजिक संगठनहरु र विकासे कार्यकर्ताहरुबीच गुटबन्दी रहेको सार्वजनिक भएपछि जनजाति नेताबीच फुट हुन नदिनु व्यापक कसरत गरिएको थियो ।
दवावपछि विभिन्न आठ ठूला जातीय संगठनको पलहमा एमाले उपाध्यक्ष अशोक राई र कांग्रेस नेता इन्द्रबहादुर (आईबी) गुरुङको नेतृत्व रहने गरी आगामी असोजभित्र पार्टी घोषणा गर्ने गरी तत्काल प्रस्तावित पार्टीका रुपमा मात्र घोषणा गरिएको जनाएका छन् ।
प्रस्तावित पार्टीको खाका निर्माणका संयोजक डा। सुब्बा तथा डा। कृष्ण भट्टचन, पासाङ शेर्पा, जितपाल किरात, डा. महेन्द्र लाओती, नन्द कन्दङ्वा, शान्ति राई, बमकुमारी बुढा, ज्योति दनुवार, शंकर लिम्बूलगायत ११ सदस्य छन् । त्यसमा थप गरी १ सय १ सदस्य बनाएको समेत पत्रकार सम्मेलनमा घोषणा गरिएको छ ।